११ अर्व सम्पत्ति गुम्यो ः शेयर बजार ओरालो तिर



जेठ २, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक घटेको छ । परिसूचक र लगानीकर्ताको सम्पत्तिमा शून्य दशमलव ६० प्रतिशतको कमी देखापरेको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताहरुको सम्पत्ति रू. ११ अर्ब घटेर रू. १९ खर्ब १६ अर्ब पुगेको छ ।यस दिन उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ओरालो लागेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू. १ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । यस बैङ्कको शेयर मूल्य रू. १० ले घटेर अन्तिम मूल्य रू. २ हजार ३ सय २५ पुगेको छ । यस बैङ्कको १ सय पटकको व्यापारमा ८ हजार २ सय १७ कित्ता शेयर किनबेच भएको हो । साथै, प्रभु बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, सानीमा बैङ्क र एभरेष्ट बैङ्कको पनि उच्च कारोबार भएको छ । बैङ्किङ समूहका परिसूचक भने शून्य दशमलव ६९ प्रतिशत घटेको छ । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४८ दशमलव ६५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

बोटलर्स् नेपाल तराईको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर अन्तिम मूल्य रू. ४ हजार ९ सय ९२ पुगेको छ । यस कम्पनीको शेयर मूल्य बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ३९ प्रतिशत बढेको हो । त्यस्तै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ९४ प्रतिशत घटेको छ । अरुण भ्याली, नेशनल हाइड्रोपावर र रिडी हाइड्रोपावर बाहेक बाँकी कारोबारमा आएका जलविद्युत कम्पनीहरुको शेयर मूल्य घटेपछि यस समूहको परिसूचकमा कमी आएकोे हो । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ७७ प्रतिशत, विकास बैङ्क र वित्त कम्पनीको शून्य दशमलव ७३ प्रतिशत, बीमाको शून्य दशमलव ५२ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको हो ।

यस दिन शेयर बजार शून्य दशमलव ६० प्रतिशत अर्थात् ९ दशमलव ९९ अङ्क घटेको हो । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ६८ प्रतिशत घटेर ३ सय ५१ दशमलव ६८ अङ्क पुगेको छ । सोमवार कारोबार रकम रू. १७ करोड ५ लाख घटेर रू. ५० करोड ४९ लाख पुगेको छ । सो दिन २६ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ९९ कम्पनीको शेयर मूल्य घट्यो र १५ कम्पनी स्थिर रहेको हो ।

दिनभरिमा १ सय ४० कम्पनीको ४ हजार १ सय २४ पटकको व्यापारबाट २८ लाख २१ हजार ७ सय १५ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५५ दशमलव शून्य ८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव २६ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्