थारु समुदायमा यसरी मनाईन्छ कृष्ण जन्माष्टमी पर्व



दाङ, १८ भदौ ।  । देशैभर हिन्दू धर्मावलम्वी समुदयले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । तराईका थारु समुदयले पनि यो पर्व धुमधामका साथ मनाउँछन् । कृष्ण जन्माष्टमी पर्व मनाउने थारुहरुको आफ्नै मौलिक चलन छ ।

थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मुली तर्थात मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाउँछन् । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।

ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ-आˆनो घरमा टपरीमा तयार गरिएको पूजा सामाग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन ।

झिसमिसे रातमा पूजा सामाग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर एकै किसिमको थारु ड्रेस लगायका युवतीहरु मतहवाको घरमा जादै गरेको दृश्य सच्चिकै मनमोहक देखिन्छ ।

 

मतहवाकोे घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गरिन्छ । यही अष्टिम्की पर्वदेखि थारु समुदायको हार्‍या गुरइ सुरुहुने गर्छ । बैशाख जेठमा ढुर्‍या गुरई मनायर बन्द गरिएको नाचगान र मादल यसै पर्बदेखि खुल्ने गर्दछ ।

यो पर्बमा ब्रत बसेर पूजाआजा गर्दा मनोकामना पुराहुने जनविश्वास छ । यो दिनमा पूजाआजापछि पनि अन्न नखाइ फलफुल मात्र खाएर सुतिन्छ ।भोलिपल्ट अष्टिम्कीको दोस्रो दिन बिहानै उठेर अघिल्लो दिन पूजा गरिको महतवाको घरमा जम्मा भइ पूजा गरिएका पूजा सामाग्री लिएर खोला नदीमा सेलाउनुपर्छ । पूजा सामाग्री खोलामा सेलाएपछि ब्रतालुहरुको ब्रत सकिन्छ र आ-आफ्नो घर जाने परम्परा छ । यसै दिन आ-आफ्ना विवाहित चेलीहरुलाई उपहार पठाइदिने चलन छ, जसलाई अग्रासन भनिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्