अाज गाैरा पर्व -बढ्दैछ यसको महिमा



काठमाण्डौ १८ भदौ । । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्वको गौरापर्व सोमवार हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष भदौ कृष्णाष्टमीका दिन मनाईने गौरा पर्व यस वर्ष सोमवार दिउँसो राजधानीको टुँडिखेलमा वृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईदैछ । गौरा पर्व–२०७५ आयोजक समितिले उपत्यकावासीलाई गौरापर्वमा सहभागी हुन ‘चुलोनिम्तो’ दिएको छ ।

राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले सूदुरपश्चिमक्षेत्र मनाइने गौरा पर्वले सबै नेपालीमा धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र शान्ति सद्भाव कायम राख्न सफल होस भन्दै गौरापर्वको शुभकामना ब्यक्त गर्नु भएको छ ।

स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले गौरापर्वले सबै नेपालीमा आपसी समझदारी र बन्धुत्वको भावना विकसित भइ राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । एतिहासिक, पौराणिक, धार्मिक तथा साँस्कृतिक महत्व र मौलिकता बोकेको गौराले नेपालीबीच सामाजिक सद्भाव, सास्कृतिक एक्वद्धता र सहिष्णुता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले ब्यक्त गर्नु भएको छ ।

यसैबीच पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् भन्दै उहाँले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताउनु भयो ।
गौरा पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने र सामाजिक सद्भाव बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

राजधानीमा भव्य
गौरापर्व–२०७५ आयोजक समितिका संयोजक एवं प्रशंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्वादत्त भट्टले राजधानीमा बसोवास गर्ने सबैलाई गौरा पर्वमा सहभागी हुन आमन्त्रण गर्नु भएको छ ।

गौरापर्व जातिय विभेद, छुवाछुत, हत्याहिंसा मुक्तसमाज निर्माणका अतिरिक्त शान्ति, सद्भाव, एकता र मेलमिलापको पर्व भएको दावी उहाँले गर्नुभयो । उहाँले गौरापर्व सुदूरको दार्चुलादेखि अमेरिकाको न्यूयोर्कसम्म मनाउन थालिएको जानकारी समेत दिनुभयो । अध्यक्ष भट्टले गौरा पर्वमा गौरा माईको पूजाआरधना हुने भएकाले यसबाट महिलाप्रतिको सम्मान प्रकट हुने बताउनुभयो । टुंडिखेलमा सोमवार दिउँसो धार्मिक कार्यक्रम समापनपछि सांस्कृतिक कार्यक्रम आयोजान हुने छ ।

विस्तारित देउडा
गौरामा खेलिने देउडा देशविदेशमा विस्तार हुँदै गएको छ । देउडा खेल्दा सहभागी सबैले कुममा कुम र हातमा हात जोडेर खेल्नु पर्ने हुन्छ । देउडासँगै केटाकेटीबीचमा खेलिने न्याउल्या पनि उत्तिकै लोकप्रिय हुँदै गएको छ । गौरा पर्वका अवसरमा आइतवार बुढानिलकण्ठस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवासमा गौरामाईको पूजाआजा तथा देउडा कार्यक्रम आयोजना गरिएको थियो ।

गौरा पर्वले सामाजिक विभेद मुक्त समाज, जातिय छ्वाछुत, धनी गरिव कुनै किसिमको विभेदलाई पश्रय दिंदैन वरिष्ठ देउडा गायक एवं प्राज्ञ यज्ञराज उपाध्यायले भन्नुभयो– त्यस कारण यो पर्वको गरिमा र महिमा बढी रहेको छ । उहाँका अनुसार, गौरा पर्व सामान्यतया पाँच दिनसम्म मनाउने चलन छ । गौरापर्वको अन्तिम दिनलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । पाँच प्रकारका अन्न तथा गेडागुडीबाट विरुडा बनाउने चलन छ । विरुडालाई गौरा पर्वको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

छुवाछुत माने पाप
त्यस्तै, गौरा माइ तथा गौराको मूर्ति कास, कुश र साँउबाट बनाउने चलन छ । जुन परम्परा एवं संस्कृति निकै रोचक तथा अनौठो छ । गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछुत माने पाप लाग्ने धार्मिक विश्वास छ । गौरामा पर्वमा महिलाहरुले मागल गाउने गर्छन । मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आरधना हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्