विदेशमा बस्ने नेपालीलार्इ फाइदा, डलरसँगै नेपालीले काम गर्ने देशका पैसाको भाउ बढ्यो



सैघाली खबर, २२ भदौ ।

डलरको भाउ लगातार बढ्दा नेपाली काम गर्ने देशमा पनि पैसाको भाउ बढेको छ । डलरको भाउसँगै साउदी र कतारी रियाल, युएई दिर्हाम, मलेसियन रिंगिट, बहराइन र कुवेती दिनार लगायत विदेशी मुद्राको भाउ बढेको हो । यसबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फाइदा पुगेको छ ।

गएको आइतबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा रहेकोमा त्यसपछि लगातार बढ्दै शुक्रबार डलरको भाउ एकसय १५ रुपैयाँ ४८ पैसा पुगेको छ । आइतबार एक डलरको खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रिदर एक सय १३ रुपैयाँ ८९ पैसा थियो । शुक्रबार एक डलरको खरिददर १ सय १४ रुपैयाँ ८८ पैसा र बिक्रिदर एक सय १५ रुपैयाँ ४८ पैसा पुगेको छ ।

कुवेती र बहराइन दिनारको भाउ धेरै बढ्यो

यो हप्ता कुवेती दिनार र बहराइन दिनारको भाउ सबैभन्दा धेरैले बढेको छ । कुवेती दिनारको भाउ ५ रुपैयाँ ७ पैसाले बढेको छ । यस्तै, बहराइन दिनारको भाउ ४ रुपैयाँ ३ पैसाले बढेको छ । आइतबार कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा थियो भने शुक्रबार कुवेती दिनार एकको खरिददर ३ सय ७९ रुपैयाँ ३४ पैसा छ र बिक्रिदर ३ सय ८१ रुपैयाँ ३२ पैसा पुगेको छ ।

आइतबार बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा थियो भने शुक्रबार खरिददर ३ सय ०४ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ०६ रुपैयाँ २४ पैसा पुगेको छ ।

साउदी र कतारी रियाल

यो हप्ता साउदी रियालको भाउ ४२ पैसाले बढेको छ भने कतारी रियालको भाउ ४३ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा थियो । शुक्रबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पुगेको छ । यस्तै आइतबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा  रहेकोमा शुक्रबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ र बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा पुगेको छ ।

युएई दिर्हाम

आइतबारदेखि शुक्रबारसम्ममा युएई दिहार्मको भाउ ४४ पैसा बढेको छ । आइतबार युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा थियो भने शुक्रबार युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा पुगको छ ।

मलेसियन रिंगिट र कोरियन वन

यो हप्ता मलेसिया रिंगिट भाउ १५ पैसा बढेको छ भने कोरियन वनको भाउ ११ पैसा बढेको छ । आइतबार एक मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रिदर २७ रुपैयाँ ८६ पुगेको छ । यस्तै आइतबार १ सयको खरिददर १० रुपैयाँ १३ र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको कोरियन वनको भाउ शुक्रबार १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ ३० पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो बेला पैसा पठाउँदा फाइदा

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा फाइदा पुग्छ । यो हप्ता आइतबारदेखि शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ बढेको छ ।

‘विदेशमा काम गरिरहेका नेपालीलाई पैसा पठाउने सुनौलौ मौका आएको छ’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्नुभयो, ‘डलरको भाउ बढ्दाको मुख्य फाइदा नै यही हो ।’दसैँ नजिकिंदै गएको छ । धेरैजसो नेपालीले दसैँको छेका पारेर पैसा पठाउने गरे पनि अहिले पैसाको भाउ बढेकाले यो बेला पैसा पठाउँदा फाइदा हुन्छ ।

डलरको भाउ बढ्दा हुने फाइदा भनेकै विदेशमा बस्ने नेपालीले पैसा पठाउँदा हुने हो । डलरको भाउ सस्तिएसँगै अरु देशको पैसाको भाउ पनि घट्न सक्छ । त्यसैले तपाईँसँग पैसा छ र पठाउने योजनामा हुनुहुन्छ भने यो समय उपयुक्त हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्