समाज शिक्षक पाँच, विद्यार्थी सात जना



दाङ : पश्चिम दाङको एक विद्यालयमा शिक्षकको संख्या पाँच र विद्यार्थीको संख्या सात छ। दङ्गीशरण गाँउपालिका ३ मिरौलीको सरस्वती प्राथामिक विद्यालयमा पाँच शिक्षकले सात विद्यार्थीलाई पढाउँदै आएका हुन्।

चार वर्षदेखि यो विद्यालयमा अत्यन्त न्यून मात्रामा विद्यार्थी भर्ना हुने गरेको विद्यालयका प्रधानाध्यापक विजयकुमार भट्टराईले बताए। विद्यार्थीहरूको चाप न्यून भएपछि बालविकासका दुई जनालाई एक शिक्षिकाले पढाउँदै आएकी छिन्। बिहीबार उक्त विद्यालयमा कक्षा १ का एक जना, कक्षा २ का दुई जना, कक्षा ४ का चार जना र कक्षा ५ का एक विद्यार्थीलाई एक कक्षा राखी शिक्षकहरूले पढाउँदै गरेका थिए।

विपन्न समुदायका बालबालिकाहरु पढ्न आउने उक्त विद्यालयमा वार्षिक परीक्षाको समयमा भने २८ जनासम्म विद्यार्थी वृद्धि हुने गरेको प्रधानाध्यापक भट्टराईले बताए। एक किलोमिटर दूरीमा रहेको पोटलीमा चार वर्षअघि प्रावि तहको विद्यालय स्थापना भएकाले पनि विद्यार्थीको संख्या यस विद्यालयमा ह्वातै घटेको विद्यालय प्रशासनले दाबी गरेको छ। दुई जना स्थायी शिक्षक, एक राहत, दुई बालविकास र एक जना कार्यालय सहयोगी गरी ६ जना कार्यरत उक्त विद्यालयमा कार्यरत छन्।

विद्यालयमा परीक्षाका समयमा विद्यार्थी बढे पनि सात जना मात्र निममित पढ्न आउने गरेका विद्यालयका प्रधानाध्यापक भट्टराईले बताए। उक्त विद्यालयले दिएको जानकारी अनुसार शिशु कक्षामा नौमध्ये दुई छात्रा र सात छात्र, कक्षा १ मा पाँचमध्ये छात्रा दुई  र छात्र तीन, कक्षा २ मा तीन जनामध्ये दुई छात्रा र एक छात्र छन्।

यस्तै कक्षा ३ मा एक छात्रा र एक छात्र, कक्षा ४ मा एक छात्रा र दुई छात्र र कक्षा ५ मा चारमध्ये दुई छात्रा र दुई छात्र भर्ना भएका विद्यालय प्रशासनले जनाएको छ।

२०४८ सालमा स्थापना गरिएको उक्त विद्यालयलाई अन्य विद्यालयसँग गाभ्ने तयारी गरिएको वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरीले बताए। यसअघि गाभ्ने प्रयास गरिए पनि स्थानीय बासिन्दाको विरोधका कारण प्रयास सफल हुन सकेको थिएन। यो विद्यालयजस्तै पोटली, सीमठाना र चिसका प्राथमिक विद्यालयमा पनि न्यून विद्यार्थी रहेको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्