लिखतमै सिमित महिला सिट



देवी भण्डारी,दाङ २३ भदौ।
देशमा भएको राजनीतिक परिवर्तनसँगै हरेक क्षेत्रमा महिला आरक्षण तथा कोटाको ब्यवस्था गरिएको छ । सार्वजनिक सवारी साधनहरुमा समेत आरक्षण स्वरुप महिला सिट लेखिएको देखिन्छ तर अधिकांश सिटमा महिला हुँदैनन् । अरु नै बसेका हुन्छन् ।
यात्रामा सहज र सुरक्षित सिट हुनु अनिवार्य छ । त्यसमा पनि महिलामाथि अनेक किसिमका हिंशा भैरहेका बेला महिला सिटमा महिला मात्रै हुनु अझ जरुरी कुरा हो तर महिला सिटको सुविधा उपभोग गर्न नपाएको गुनासो महिला यात्रुहरुको छ ।

महिला सिटमा बस्न खोज्दा पनि नपाएको बबई गाउँपालिका ५ हापुरेकी २७ वर्षिया लिला बिश्कर्माको अनुभव छ । ‘महिला सिट लेखिएको छ खोई बसौं न भन्दा महिला पुरुष बरावरी भन्ने अनि अहिले महिला आरक्षणको सिट नै खोज्ने ? भनेर थर्काउँछन्,’ उनले अनुभव सुनाइन्,‘भनाई र ब्यवाहारमा फरक छ ।

महिलालाई हेपाहा प्रबृत्तिले हेरिन्छ । निति नियममा महिला आरक्षणकाका कुरालाई जोड दिएपनि कार्यन्वयनमा आउन सकेको छैन ।’
बढ्दो शहरीकरण संगै सवारी साधनको चाप पनि उत्तिकै छ । नयाँ नयाँ यातायताका साधनहरु वर्षेनी थपिदै गएका छन् । थपिने हरेक यातायातका साधनमा समेत महीला आरक्षण सिट लेखीएको हुन्छ तर पनि आफैले लेखेको कुरा पूरा गर्न यातायात व्यवसायीहरु तयार देखिदैनन् ।

महीला आरक्षण सिट कार्यान्वयन हुन नसकेको गुनाशो गर्छिन् राप्ती गाउँपालिका ७ की ५५ बर्षिया डिला अधिकारी । ‘महिला सिटमा बस्नै पाइदैन,’ उनले भनिन्,‘जहिले पनि कचकच गर्नुपर्छ ।’

राप्ती अञ्चल यातायात व्यवस्था कार्यालय तुलसीपुरका अनुसार हाल दाङमा ४८ हजार २ सय ५६ यतायातका सधानहरु छन् । त्यसमध्ये २ हजार ५ सय ५५ सार्वजनीक सवारी साधन छन् । यी सबैजसो सवारी साधनमा एउटै खालको समस्या छ– महिला सिटको उपयोग नहुनु । ‘

सार्वजनिक सवारी साधनमा महिला सिट भने पनि छोड्दैनन् त्यसेले जहाँ खाली छ त्यही गएर बस्छौं,’ घोराही उपमहानगरपालिका १५ की कान्ता शर्माले भनिन्,‘कतिपय ठाउँमा आफै भन्न पनि सकिदैन ।

त्यत्तीकै सिट हेरेर बस्नुपर्छ ।’ लामो यात्रा गर्दा महिला सिटको कदर भएपनि छोटो दुरीको यात्रामा भने महिलाले सास्ती भोग्नुपरेको उनले बताइन् । ‘विशेषगरी दाङको घोराही तुल्सीपुरको बाटोमा सार्वजनीक यातायातका साधनमा यात्रा गर्दा महिला सिट त परैको कुरा हो,’ उनले भनिन्,‘उभिएर यात्रा गर्नुपर्ने बाध्यता त छ । त्यसमा झन् बढी असुरक्षित महसुस हुन्छ ।’

महिलाहरु नै महिला सिटमा बस्न नमानेको बताउँछन् गाडी चालक घोराही उपमहानगरपालिका १५ का सन्तोष पाण्डे । ‘महिला पुरुष संगै गाडि चढ्नुहुन्छ, महिला सिटमा बस्नुस भन्दा उहाँहरु नै अकै सिट रोज्नुहुन्छ,’ पाण्डेले भने,‘महिला सिटमा हामीले महिला नै राखेका हुन्छौं ।

महिला नभए मात्र पुरुषलाई राख्ने गरेका छौं ।’ लामो दूरीको यात्रा गर्दा भने महिला सिटमा पुरुष राखेको नराखेको प्रहरीले पनि चेक गर्ने भएकाले अरु राख्नै नसकिने उनले बताए ।

‘छोटो दूरीको यात्रामा भने महिला नै त्यति इच्छुक नभएको देखिन्छ,’ उनले भने,‘नजिकै त छ भन्ने सोच हुन्छ । हामी पनि बस्नै पर्छ भन्दैनौं ।’
नेपाल सरकारले तोकेको आरक्षण कोटामा महिला नराखेको भेटिएमा कारवाही हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवर बताउँछन् ।

यस व्यवस्थाको कार्यान्वयन गर्न यातायात व्यवसायी, यातायात व्यवस्था कार्यालय र स्वयम महिला नै सजग भएर काम गरेमा समस्या समाधान हुने उनले बताए ।

महिला उभिएर पुरुष आरक्षण सिटमा बसेको पाएमा कारण खोजेर ५ सय देखि १ हजार ५ सय रुपैयासम्म जरिवाना गर्ने गरेको कुवरले बताए । आरक्षण कार्यान्वयन गराउने उद्देश्यले यातायात समिति, मजदुर र जिल्ला ट्राफिक प्रहरी र नेपाल प्रहरीबीच हालै छलफल भएको उनले बताए ।

महिला सिट कार्यान्वयन नहुनुमा चालक तथा सहचालकको कमजोरी रहेको तुलसीपुर जीप तथा मिनि माइक्रो बस बस व्यबसायी समिति दाङका अध्यक्ष पदम बुढाथोकी बताउँछन् ।

‘हामीले नियम कार्यान्वयन गर्नुपर्छ भनेका हुन्छौं । गाडीमा चालक र सहचालकले ध्यान दिएमा नियम लागू हुन्छ,’ उनले भने,‘कतिपय अबस्थामा महिलाहरुले पनि आफ्नो अधिकाकार नखोजेको देखिन्छ ।

पछिल्लो समय महिला पुरुष बरावरी भन्ने मानसिकताले पनि समस्या भएको छ ।’ लामो दुरीको यात्रामा सबै सवारी साधनमा कार्यान्वयन भए पनि छोटो दुरीमा समस्या रहेको उनले बताए । आफ्नो अधिकार उपयोग गर्न यात्रु नै सजग हुनुपर्ने बुढाथोकीले बताए ।

जतिसुकै नयाँ व्यवस्था भए पनि हाम्रो सोचमा परिवतर्न आउन नसकेको महीला अधिकारकर्मी शुष्मा गीरीको भनाइ छ । ‘एउटी महिला एक्लै सार्वजनीक सवारी साधनमा यात्रा गर्न डराउनुपर्ने अवस्था छ ।

कतिबेला के हुन्छ भन्न सकिदैन,’ उनले भनिन्,‘यात्रा सुरक्षित छैन । सवारी साधनमै बलात्कार भएका घटना धेरै सुनिन्छ ।’

महिलाको सुरक्षा तथा संवेदनशिलतालाई ख्याल गरि सार्वजनीक सवारी साधनमा महिला सिटको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनमा कोही पनि गम्भिर नभएको उनले बताइन् ।

आवाज उठाएमा महिला आरक्षण सिट उपयोग गर्न सकिने बबई गाउँपालिका ५ की सावित्रा रानाको अनुभव छ । ‘बोल्नेको पिठो बिक्छ भने झै बोल्न सक्यो भने सिट पनि पाइन्छ,’ उनले भनिन्,‘सहेर बसेपछि दुःख पाइन्छ । अधिकार लिन बोल्नुपर्छ ।’ आरक्षण सिटको बारेमा जानकारी नभएका र बोल्न नसक्ने महिलाहरु सँधै कष्ट सहेर यात्रा गर्न बाध्य भएको उनले बताइन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्