विकास समितिको सभापतिमा खड्का



काठमाडाँ, ५ असोज. प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहनुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन हुनुभएकामा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गर्नुभयो ।

त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो । सभापतिमा श्रेष्ठ निर्विरोध भएपछि समितिका सदस्यहरुले उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्