तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु



दाङ : तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले बताए।

शुक्रबार राति साढे ८ बजेतिर तुलसीपुर ८ टिकरी भन्ने स्थानमा लु२त ४१८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा वलीको घटनास्थलमै मृत्यु भएको  प्रहरीले बताएको छ। बालकलाई ठक्कर दिने ट्याक्टर चालक अझै फरार रहेको र ट्याक्टर भने राति तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला पारेको डिएसपी शाहीले बताए। चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।

त्यसैगरी उता सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दाङबाट रुकुम जाँदै गरेको ट्रयाक्टर शुक्रवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। रा१त २६२८ नम्बरको ट्रयाक्टर सल्यान बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वी रुकुम उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्रयाक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन्। घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। सामान लिएर जाँदै गरेको ट्रयाक्टर सकडबाट करिब ६०० मिटर तल खसेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्