विवाहको रमाइलो शोकमा परीणत भएपछि……………….



बिष्णुकुमार देवकोटा ।

दाङमा गएराति भएको भयानक सडक दुर्घटना संगै विवाहको उल्लास शोकमा परिणत भएको छ ।
राप्तिसोनारी गाँउपालिका–८ शमशेरगंजबाट नारायणगढ गितानगरमा बेहुली लिनगएका बेहुला यज्ञ के.सीले सायदै सोंचेका थिए होलान, त्यो विहेको उत्सव एकाएक शोकमा परिणत हुन्छ भन्ने !
तर ‘हुनेलाई कस्ले रोक्न सक्छ र?’ नारायणगढ गितानगरबाट बेहुली सहित फर्किएको जन्तिको टोली घरको मुखैमा आएर भयानक दुर्घटनामा प¥यो र विवाह उत्सव मृत्यु शोकमा बदलियो ।

र, यज्ञ के.सी.ले गुमाए आफ्ना मातापिता संग आफ्ना आफन्तहरु ।
साझँ करीब ४ बजे नारायणगढबाट फर्किएको जन्ति दाङ सतबरीया नजिकै चिया नास्ता गरी ८ जनाको टोली जन्तिको स्वागतको व्यवस्था मिलाउनका लागि केहि समय अघि घरतर्फ लाग्दै थियो । अचानक लमही नगरपालिका वडा नं ९ बगारबाबा ( रिहार) को प्रथम मोडमा बिपरित दिशा तर्फबाट आइरहेको बस संग एक्कासी जुध्न पुग्यो ।

घर पुग्ने अनि छोरा बुहारीलाई घरमा अन्माउने सपना बुन्दै गरेका बुवा आमा सहितका आफन्तहरुको गन्तब्यको अन्त्य रिहार मै भयो ।
कोहलपुर नगरपालिका वडा नं १२ का ७८ बर्षीय दत्त बहादुर खत्रि, राप्ति सोनारी गाउँपालिका ओभरीका ४५ बर्षीया बिमला खत्री, सोही ठाँउका ४९ बर्र्षीय विश्वनाथ अधिकारी, ५ वर्षिय बालक प्रबिण केसी, बर्ष ५३ का मानबहादुर के.सी र बर्ष ३१ का दिपककुमार खड्काले घटनास्थलमै ज्यान गुमाए ।
उनिहरुलाई दाङको लमही स्थित फ्लोरेन्स अस्पताल र लमही अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरिदिए ।
चालक यमबहादुर बुढा र सोही स्थानका ४५ बर्षीय गीतादेवी खत्रिलाई घटनास्थलबाटै प्रहरीको सहयोगमा उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाईयो ।
मृतक ६ जनाको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनापछि राप्ति सोनारी उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपककुमार खड्का र समाजसेवी विश्वनाथ अधिकारीको निधनले त्यस क्षेत्रलाई अपुरणीय क्षति भएको उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम ढुङ्गानाले बताउनुभयो ।

भोजखान गएका जन्तिहरु मलामी बनेर फर्किदा साह्रै दुःख लागेको भावविह्वल हुँदै बेहुलाका दाजु ओमप्रकास के.सी.ले प्रतिकृया दिनुभयो ।
अत्यन्त क्षत बिक्षत अवस्थामा शवहरु पोष्टमार्टम कक्षमा राखिएको छ । एकै पटक ६ जनाको शव परिक्षण गर्नु पर्ने भएकोले केही समय लाग्ने अस्पताल श्रोतले जनाएको छ ।

यता मृतकका आफन्तहरुले भने छिटोभन्दा छिटो कानुनी तथा चिकित्सकीय प्रकृया पुरागरी शोकाकुल परीवारजनहरु माथी न्याय गरिदिन आग्रह गरेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्