सैघाली खबर,
काठमाडौं, २० साउन ।– शुक्रबार धेरै नदीमा बाढीको खतरा रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । अहिले पनि पानी परिरहेकाले बबई र कर्णालीमा बाढीले खतराको तह पार गर्नसक्ने देखिएको छ ।
बाँके, बर्दिया, कैलाली, चितवन, नवलपरासी, सुनसरी र मोरङका नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन शाखाले आग्रह गरेको हो । शाखाका प्रमुख राजेन्द्र शर्माका अनुसार बबई नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । यसले बाँके, बर्दिया र कैलालीका धेरै ठाउँ जोखिममा परेका छन् ।
शाखाका अनुसार नारायणी, रेउखोला, बबई र रानीजरुवा क्षेत्रमा पानीको सतह बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा गाडी चलाउन र मानिसलाई हिँडडुलमा समेत रोक लगाइएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । ठूलो पानी परेपछि पहिरोको जोखिम बढेको भन्दै राजमार्गमा विशेष निगरानी बढाउन गृहमन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै नदी तटीय क्षेत्रका डुवान भइरहने होचो भाग तत्काल खाली गर्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । शुक्रबार बाढीको जोखिम भएको ठाउँका बासिन्दालाई शाखाले सतर्कता अपनाउन तथा मोबाइलमा खतराको म्यासेज पाए अर्को व्यक्तिलाई पनि जानकारी गराउन अनुरोध गरेको हो । यस्तै बाढी आउने नआउने बारे जानकारी लिन वा दिन ११५५ मा फोन गर्न सकिने पनि शाखाले जनाएको छ । वैशाखयता मात्रै नेपालमा बाढीका कारण १८ र पहिरोमा परेर ३० जनाले ज्यान गुमाएका गृह मन्त्रालयले जनाएको छ ।
लगातारको झरीले पहिरोको जोखिम बढेकाले पहाडमा यात्रा गर्दा सजग हुन मौसमविद्ले सुझाव दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।