चितवनमा स्मार्ट सिटी’को काम थालियो



चितवन । भरतपुर महानगरपालिकाले ‘स्मार्ट सिटी’को काम थालेको छ । महानगरले घरधुरी सर्वेक्षणका लागि गणक खटाएको छ । भरतपुर महानगरका २९ वडामा घरधुरी सर्वेक्षणका लागि एक सय पाँचजना गणक खटिएका छन् । वडाको जनसंख्याका आधारमा गणकहरू खटिनेछन् । महानगरले १८ फागुनसम्म घरधुरी सर्वेक्षण सक्ने लक्ष्य लिएको छ । घरधुरी सर्वेक्षण गर्दा गणकहरूले एक सयवटा प्रश्नको जवाफ लिनेछन्, जहाँ पेसादेखि जमिनसम्म, सरसफाइदेखि कमाइसम्मका सम्पूर्ण पारिवारिक विवरण लिइनेछ । सोही सर्वेक्षणका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार सहरी विकास मन्त्रालयले स्मार्ट सिटीको अवधारणा अघि बढाउनेछ । २० वटा सहरलाई स्मार्ट सिटी बनाउने मन्त्रालयको योजनामा भरतपुर महानगर पनि परेको हो ।

 

छिटै स्मार्ट सिटी  मेयर दाहाल
भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने काम सुरु भएको जानकारी दिँदै मेयर रेणु दाहालले छिट्टै नै स्मार्ट सिटीको अवधारणालाई सार्थक बनाउने बताइन् । ‘गणकहरूले घरघुरी सर्वेक्षण गर्नेछन् । सर्वेक्षणपछि आएको प्रतिवेदनका आधारमा स्मार्ट सिटीका योजना अघि बढ्नेछन्, दाहालले भनिन्, ‘सहरी विकास मन्त्रालयले भरतपुरलाई स्मार्ट सिटी बनाउन चालेको कदमलाई हामी साकार पार्नेछौँ ।’

महानगरमा हरितपार्क निर्माण गर्न सम्झौता
वन तथा वातावरण मन्त्रालय वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । सम्झौतापछि मेयर रेनु दाहालले सम्झौताले भरतपुर महानगरपालिकालाई हरियाली बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । सम्झौतापत्रमा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी र भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । अधिकृत सुवेदीले कुन ठाउँमा कति क्षेत्रफलमा हरितपार्क निर्माण गर्ने भन्ने निर्णय भइनसकेको बताए । उनले १५ वर्षका लागि सम्झौता भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्