नगरवासीको लागि निःशुल्क शव वाहन सेवा



मोरङ सुन्दर–हरैंचा नगरपालिकाभित्र कसैको मृत्यु भए शव वाहन घरमै निःशुल्क पुग्ने गरेको छ । १२ वटा वडा रहेको सुन्दर–हरैंचा नगरपालिकाले आफ्नो नगरपालिकाका सबै जनताका घरमा शव वाहन पुर्‍याउने गरेको हो।

करिब १ लाख २० हजार जनसंख्या भएको सुन्दर–हरैंचा नगरपालिकाले जनताका लागि यस्तो कार्यक्रम ल्याएको जनाइएको छ । मेयर शिव ढकालले ‘जनताको दुःखमा स्थानीय निकाय छ’ भन्ने उद्देश्यले ‘घरदेखि घाट’ अभियान सञ्चालन गरेका हुन् ।

‘हामी अस्पतालसम्म त पुग्दैनौं तर नगरपालिकाभित्र जोसुकैको मृत्यु भए पनि लाश घाटसम्म पुर्‍याइदिन्छौं,’ मेयर ढकालले भनेका छन्, ‘मृत्यु एउटा दुःखको अन्तिम अवस्था हो, यस्तो अवस्थामा स्थानीय निकायको पनि जिम्मेवारीबोध रहनुपर्छ भन्ने लागेर कार्यक्रम सञ्चालन गरिएको हो।’

ढकालका अनुसार २०७४ जेठ महिनामा २० लाख रुपैयाँ खर्च गरेर शव वाहन गाडी खरिद गरियो। यो गाडी नगरपालिकाभित्रका सबै वडा–वडामा पुग्छ, शव लिएर घाट जान्छ।

‘घाटमा लगे घाटमै, कतै लगेर गाडे सोही ठाउँमा लाश लिएर शव वाहन जान्छ,’ सुन्दर–हरैंचा नगरपालिका १० का विनोद ढकाल भन्छन्, ‘दुःखमा नगरवासीलाई यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ।’

मेयर ढकालका अनुसार शव वाहन दमकलजस्तै हो। यो शव वाहनमा एक जना चालक छन्। उनी फोन रुँघेर बस्छन्। घन्टी बजेपछि स्थान पहिचान गरेर गाडी दौडाउँछन्।

यो नगरपालिकाको कार्यक्षेत्र इटहरी पूर्व बेलबारी नगरपालिका पश्चिमसम्म हो । यहाँका कुनै पनि शवदाहस्थलमा निःशुल्क शव वाहन पुग्छ।

‘नगरपालिका क्षेत्रभित्र निःशुल्क हो, अन्य छिमेकी नगरपालिका, गाउँपालिकाले माग गरे सशुल्क शव वाहन पठाउँछौं,’ मेयर ढकालले भने।

ढकालका अनुसार दिनमा एक, दुईदेखि चार वटासम्म मृत्युका खबर आउने गरेका छन्। अहिलेसम्म वाहन एउटै काफी छ। आवश्यकताअनुसार वाहन थप्ने योजना रहेको उनले बताए ।

उनका अनुसार सबै वडाबाट शवदाहस्थलसम्म लाश बोकेर हिँड्न सक्ने अवस्था छैन। विपन्न मानिसहरूलाई त शव व्यवस्थापन गर्नै कठिन पनि छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्