तराईमा बाढीको बबण्डर, विभिन्न स्थानमा गरी ३० बढीको मृत्यु



काठमाडौ, २८ साउन । लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी देशका विभिन्न स्थानका ३० जनाको मृत्यु भएको छ ।
गृहमन्त्री जनार्दन  शर्माले बाढी पहिरोमा परी देशभर ३० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । उहाँले ठूला नदीहरुमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन नागरिकलाई आग्रह गर्नुभएको छ ।

लगातारको वर्षापछि दाङमा बबई नदीमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बीस वटाभन्दा बढी घर बगाएको छ । यस्तै पचास वटाभन्दा बढी घर डुवानमा परेका छ ।

त्यस्तै, राप्ती नदीमा आएको बाढीले घर बगाउँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको छ । बाढीले बगाएको एक जना बेपत्ता भएका छन् । मृत्यु हुने चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, सुनसरीको इटहरीमा ५ र तरहरामा १ जना गरी ६ जनाको बाढीले बगाएर मृत्यु भएको भएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरीगाउँका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ हाल इटहरी ४ बस्ने माला राईको तीन बर्षको छोरा रुपेस राई र ८ बर्षकी रुपसनी राई रहेका छन् ।

यस्तै, घरमा पानी पसेपछि इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० वर्षका एक व्यक्तिको मृत्यु भएको गएको प्रहरीले जनाएको छ । जिल्लाकै लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापामा बाढीले बगाएर दुई जनाको मुत्यु भएको छ भने एक बालिका बेपता भएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षीया लक्ष्मी पाण्डेको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई घरनजिकैको झिलमिले खोलाले बगाएर मुत्यु भएको हो । त्यस्तै झापा गाउँपालिका २ बस्ने ३५ वर्षीया धनमाया घोसाइनीको मुत्यु भएको छ भने उनकी करिव १५ वर्षीया कमला घोसाईनी बेपता भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । झापामा अहिलेसम्म सयौं घर डुबानमा परेको छन् भने एक हजार घरपरिवार विस्थापित भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काका रहेका छन् पहिरोमा पुरिएका उदयबहादुर खड्का उद्धार गरिएको छ । दुई दिनदेखि लगातार परिरहेको पानीले गर्दा जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिंदँ उक्त घटना भएको हो ।

थुपारिएपछि माटो हटाउन प्रहरी कार्यालयलाई बारम्बर आग्रह गर्दा समेत प्रहरीले बेवास्ता गरेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ । पहिरोले नेपाल पत्रकार महासंघ, सिन्धुलीको जग्गामा टहरो बनाएर बस्दै आएका चार जनाको मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १० गन्धर्वटोलका २० वर्षीय राजेन्द्र थारुको बबइ नदीले बगाएर बेपत्ता भएका छन् । जिल्लाको बाँसगढी नगरपालिकामा १२ घर डुबानमा परेको जानकारी प्राप्त भएको छ ।

राजविराज नगरपालिकामा २० वर्षकै उच्च बाढीको जोखिम बढेको छ । शनिबार बिहानैै राजविराज नगरपालिका डुबानमा परेको छ । यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका शुक्रबार मध्यरातिदेखि नै डुबानमा परको छ ।

इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना पनि डुबानमा परेको खबर प्राप्त भएको छ । इटहरीको पूर्वमा रहेको बुढीखोलको झोलुङगे पुल पनि बाढीले बगाएको छ । यस्तै, बबइनदीको पानीको सतह खतराको तहभन्दा माथि भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकलाइ सजग रहन आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्