काँग्रेस संसदीय दलको बैठक जारी



काठमाडौँ —प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी सिंहदरबारमा छ । आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

काँग्रेस राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेले दलको बैठकबाट दिउँसो १ र २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गरिने   जानकारी दिए ।

उनका अनुसार दुवै सदनको बैठकमा विरोध गर्ने वा नगर्ने र राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने कि नहाल्ने भन्नेबारे दलको बैठकले निर्णय लिने छ ।

आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि आफ्नो रणनीति तय गर्न दलको बैठक बसेको उनले बताए ।

आजको राष्ट्रियसभाको बैठकको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि दफावार छलफल हुने उल्लेख छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।

आजको बैठकबाट विधेयक पारित भएमा प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइनेछ । साे पश्चात् विधेयकले ऐनको रुप लिने छ र कानुनको रुपमा लागू हुनेछ ।

सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गर्दैगर्दा डा. गोविन्द केसी भने २३ दिनदेखि अनसनमा छन् । पुष २५ देखि इलामबाट १६ औं अनसन थालेका डा. केसीले १५औँ अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने माग राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्