टिपर आतंक, ६ महिनामा १० जनाको मृत्यु



२८ माघ । आइतबार बिहान बिराटनगर महानगरपालिका–२ बरगाछी चोकमा टिपरको ठक्करबाट ५० बर्षीय लगनलाल राजवंशीको मृत्यु भयो । घरबाट मजदुरीका लागि निस्किएका कटहरी गाउँपालिका– २ का राजवंशीलाई साइकलमा कोशी राजमार्ग पार गर्ने क्रममा को १ ख ७०९२ नम्मबरको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।

गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भयो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने सातवटा टिपरमा आगजनी गरे । टिपरमा आगजनी भएपछि सो सडक खण्डमा अहिले टिपर कुदेको छैन । टिपर व्यवसायीले सुरक्षाको माग गर्दै आन्दोलनसमेत गरेक छन् ।
गत मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाई नगरपालिका – २ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो ।

मोरङमा टिपरबाट भएका तीन गम्भीर दुर्घटना चालकको असावधानीका कारण भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ बरगाछी चोकमा टिपर घुमाउने क्रममा पछाडिको चक्काले साइकलयात्रीलाई किचेको बताउँछन् । साइकललाई ठक्कर दिने टिपर चालक इटहरी १३ का ५६ वर्षीय नुना सरदार अहिले प्रहरी नियन्त्रणमा छन् ।

‘साइकलयात्री र टिपर एउटै रुटबाट जाँदै थिए,’ डीएसपी श्रेष्ठ भन्छन्, ‘बरगाछी चोकमा घुमाउन खोज्दा टिपरको पछाडिको भागले साइकलयात्रीलाई ठक्कर दिएकाले चालकले होसियारी नगरेको हो कि भन्ने देखिन्छ ।’
मोरङ जिल्लामा मात्र होइन, प्रदेश १ का अन्य जिल्लामा पनि टिपरको आतंक उस्तै छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साउन यता मात्रै प्रदेशमा २० वटा टिपर दुर्घटना भएका छन् । २० दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

साँघुरा र जीर्ण सडकमा तिब्र गतिमा हुइँकिने टिपरबाट बढी दुर्घटना हुने गरेको छ । अस्वस्थ्य प्रतिस्पर्धाका कारण पनि दुर्घटनाको जोखिम बढी हुने प्रदेश ट्राफिक कार्यलय इटहरीका प्रहरी निरीक्षक होमराज दाहाल बताउँछन् । ‘टिपरमा अस्वस्थ्य प्रतिस्पर्धा पनि छ’ उनी भन्छन् ‘टाइम कार्ड लगाएपछि दुर्घटनामा केही कमी आएको छ ।’

दुर्घटनाको कारण भिजिबिलिटी कम !

अस्वस्थ्य प्रतिस्पर्धासँगै टिपर दुर्घटनाको अर्काे कारण भिजिबिलिटी कम हुनु पनि हो । चालक बस्ने ठाउँबाट अगाडि करिब डेढ मिटर केही नदेखिने कारण पनि दुर्घटनाको जोखिम बढ्ने ट्राफिक प्रहरी निरीक्षक दाहाल बताउँछन् ।

‘दुर्घटना हुनुमा भिजिबिलिटी पनि कम जस्तो देखिन्छ’ उनी भन्छन् ‘टिपरमा चढ्दा ड्राइभरले डेढ, दुई मिटर देख्दैनन् ।’

भिजिबिलीटी कमको समस्या होचा चालकहरुमा अझ बढी हुन्छ । टिपरको अगाडि सिसामा फूल र फोटोहरु झुण्डयाउने प्रवृत्तिका कारण पनि भिजिबिलिटीमा समस्या भएको उनको भनाइ छ । ‘हामीले देखेको ठाउँमा अगाडि सिसामा राखेका सामाग्री हटाउँछांै,’ दाहाल भन्छन् ‘तर उनीहरुले फेरि लगाउँछन् ।’

दुर्घटना न्यूनीकरण गर्न टिपरमा हुने अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले बिहान साढे ९ देखि ११ र साँझ साढे ३ देखि ५ बजेसम्म मुख्य राजमार्गमा टिपर कुदाउन रोक लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्