सामाजिक सञ्जालमा सरकारको नियम.. फेसबुक, ट्वीटर चलाउन दर्ता गर्नु पर्ने



काठमाडौं । सामाजिक सञ्जाल चलाउन चाहने व्यक्तिलाई समेत अब सरकारले नियमन गर्ने भएको छ । यसो भएमा अब फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन चाहने व्यक्तिले सम्बन्धित विभागमा दर्ता गर्नुपर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल चलाउन चाहने व्यक्तिलाई नियमन गर्न ऐन ल्याउन लागेको विषयमा नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषदमा पठाइएको विधेयकको परिच्छेद १४ मा रहेका विभिन्न दफाहरुमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम सम्बन्धित विभागमा दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । दफा ९१ को उपदफा १ बमोजिम नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्ने व्यवस्था समेत विधेयकमा गरिएको छ । त्यसैगरी दफा ९२, ९३ र ९४ मा समेत नियन्त्रणकारी व्यवस्था गरिएको छ ।

‘‘ऐनमार्फत सामाजिक सञ्जालमा नियन्त्रण गर्न खोज्ने सरकारको यो कदम प्रतिगामी सोचबाट आएको छ’’, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आम नागरिकको जीनपद्धति नै बनिसकेको सामाजिक सञ्जालमा नियन्त्रण गर्न खोज्ने सरकारको कदम असल नियतबाट नभई अधिनायकवादी सोचबाट आएको प्रतिगामी कदम हो भन्ने प्रेस युनियनको ठहर छ ।’’

सरकारको यो कदम संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्नेतर्फ उद्यत छ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारको यो पछिल्लो तयारीले कुनै दिन हामी नागरिकको मुख समेत थुन्न आउन सक्छौ भन्ने दम्भको संकेत पनि सरकारले गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास भइरहेको सामाजिक सञ्जालमा आँखा लगाएर सरकारले लोकतन्त्र मास्ने काममा सिलसिलेवार आक्रमण गरेको छ । यसबाट केपी ओली नेतृत्वको सरकारको नियत र चरित्र समेत प्रष्ट भएको छ ।’’

महासचिव शिवाकोटीको विज्ञप्तिमा सरकारको यस प्रतिगामी निर्णयको विरोध गर्नु आम लोकतन्त्रप्रेमी र स्वतन्त्रताप्रेमीहरुको धर्म हो भनिएको छ । ‘‘तसर्थ आआफ्नो ठाउँबाट सरकारको यस प्रयासको डटेर सामना गर्न नेपाल प्रेस युनियन सबै सरोकारवाला पक्षसँग जोडदार आह्वान गर्दछ’’, विज्ञप्तिमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्