बाढीले घर बगाएपछि मन्दिरमा काजकिरीया



दिपक बोहरा
तुलसीपुर ३ भदौ ।
अबिरल बर्षासंगै आएको बाढीले बगाउदा मृत्यु भएकी तुलसीपुर १३ फुलबारीकी भगवती सुनारका तीन छोराहरु अहिले मन्दिरमा काज किरिया गरिरहेका छन् । बर्षा संगै आएको बाढीले दुईवटै घर समेत बगाउँदा अहिले आमा भगवतीको १३ दिने काज किरिया पनि आफ्नै घरमा गर्न पाएका छैनन् । अहिले उनीहरु बस्ने घर समेत छैन् ।

भगवतीका तीन छोराहरुले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको त्रिसिद्धेश्वरी मन्दिरको क्रियापुत्रि भवन भाडा लिएर काजकिरिया गरिरहेका छन् । छोराहरु रिख बहादुर सुनार, भरत सुनार, शरद सुनारले आमा भवगतीको काजकिरिया मन्दिरमा गरिरहेका छन् । ‘घर बगेपछि काज किरिया गर्ने ठाउ भएन’ भगवतीका श्रीमान मान बहादुरले भने ।

बाढीले घर बगाएपछि काजकिरिया गर्न तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरमा आएका मानबहादुरले काज किरिया सकिएपछि कहाँ बस्ने भन्ने चिन्ताले झनै पिरोलिरहेको छ । उनले भने‘ काजकिरिया त यहाँ गरियो तर काजकिरिया सकिएपछि कहाँ बस्ने हो ।’ बाढिले भगवती लगेपछिको पीडामा रहेका उनीहरु अब कहाँ बस्ने, के खाने भन्ने चिन्ताले झनै पिरोलिरहेको छ ।

उनीहरुले त्रिसिद्धेश्वरी मन्दिरका तीन वटा कोठा भाडामा लिएका छन् । साउन २७ गते राती आएको बाढीले बगाउदा भगबतीको मृत्यु भएको थियो । घरमा उनकी कान्छि बुहारी र उनी मात्रै बस्दै आएकी थिईन् । शुक्रबार राती अबिरल बर्षा संगै स्थानीय तुई खोलामा आएको बाढी उनको घरभित्रै पस्यो । बाढी पसेपछि बाख्रालाई बचाउन खोज्दा बाढीले भगवतीलाई बगाएको परिवारले जनाएको छ । त्यो बेला छोरा र श्रीमान भारतमा कमाउन गएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्