विद्युत महशुल अनलाइनबाट तिर्न मिल्ने



सैघाली खबर,
काठमाण्डौ,५ भदौ।
नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ ।
ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभयो । ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट पनि सहजैरुपमा घरमै बसेर महशुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविश्यमा नै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिनेछ ।

प्राधिकरणले आज सम्झौता गरेका संस्थाको मुलुकभर झण्डै १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिनुभयो । सो प्रणालीको प्राधिकरणले यसअघि नै परीक्षण गरिसकेको छ ।

ग्राहकलाई बढीभन्दा बढी सेवा दिने उद्देश्यले अनलाइन भुक्तानी प्रणालीको विकास गरिएको जानकारी दिँदै मन्त्री शाहीले ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधाबाट टाढा राखेर सेवा दिने लक्ष्यलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा न्यूनतम ८० रुपैयाँ महशुल तिर्न ४ सय रुपैयाँसम्म खर्च गर्नुपरेको भन्ने गुनासो आइरहेका बेला यस्तो प्रविधिले सहजता ल्याउने विश्वास गरिएको छ ।

ग्राहकले नजिकैको बैंक तथा वित्तीय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महशुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्