को हुन् विलियम सेक्सपियर ? उनि बाट केहि सिक्ने हो कि ?



 

बेलायती साहित्यकार विलियम सेक्सपियरको जन्म २६ अप्रिल १५६४ अर्थात् साढे चार सय वर्षअघि भएको थियो । तर, उनका थुप्रै कृति तथा नाटक आज पनि विश्वप्रसिद्ध छन् । १८ वर्षमै उनको विवाह भएको थियो । तर, विश्वप्रसिद्ध बन्नका लागि विवाह बाधक बनेन । मानिसमा ज्ञान बाँडिरहे । उनी अदभूत कल्पनाशक्ति भएका मानिस थिए । आज हामी उनै सेक्सपियरका केही महान् वाणी उद्धृत गर्दै छौँ, जो तपाईंको जीवनलाई पनि सुन्दर र सफल बनाउन महत्वपूर्ण साबित हुन सक्छ ।

हामी सधैँ कसैलाई सुन्दर नाम दिन खोज्छौँ, र चाहन्छौँ, नामअनुसारको काम । तर, सेक्सपियरले यसलाई वाहियात ठानेका छन् । उनले भनेका छन्, ‘नाममा केही हुँदैन । तपाईंले गुलाबलाई कुनै अरू नाम दिनुस् । तर, उसको सौन्दर्य उस्तै रहन्छ ।’ यसर्थ, नामभन्दा पनि काममा जोड दिन आवश्यक छ ।

समाज बिस्तारै देखासिकीतर्फ उन्मुख छ । परिणाम मानिस आफैँलाई मारेर अगाडि बढ्न उद्धत हुन्छ । यस्तो देखासिकीका कारण नचाहँदानचाहँदै पनि उसले कैयौँ गल्ती गरिरहेको हुन्छ । तर, सेक्सपियरले त्यतिवेलै भनेका थिए, ‘यदि तपाईंको आत्माको भलो हुन्छ भने सम्झनुस् सबैको भलो हुन्छ ।’

हरेक मानिस सकेसम्म अरूसँग असल र बुद्धिमान् देखिन चाहन्छ, चाहे ऊभित्र जतिसुकै क्षमता होस् । सेक्सपियरले भने आममानवीय स्वभावबारे फरक धारणा राखेका छन् । जुन निकै मार्मिक छ । भन्छन्,

‘एक मूर्ख व्यक्ति आफूलाई बद्धिमान् सम्झन्छ । तर, एक बुद्धिमान् व्यक्ति आफूलाई मूर्ख सम्झन्छ ।’

सेक्सपियर निडरताका साथ आफ्नो काम अगाडि बढाउन सल्लाह दिन्छन् । उनले मानिसभित्रको डरलाई गम्भीर कमजोरीको रूपमा व्याख्या गरेका छन् । उनी भन्छन्, ‘डरपोक व्यक्ति मर्नुअघि कैयौँपटक मरिसकेको हुन्छ । तर, एक साहसी व्यक्तिले जीवनमा एकपटक मृत्युको स्वाद चाख्न पाउँछ ।’

कसलाई विश्वास गर्ने र कसलाई प्रेम गर्ने रु सधैँ द्विविधामा हुन्छौँ । यस विषयमा निकै सरल ढंगले गम्भीर कुरा भनेका छन् सेक्सपियरले, ‘तपाईं सबैलाई प्रेम गर्नुस् । तर, केहीलाई मात्र विश्वास गर्नुस् । कसैका लागि कहिल्यै गलत काम नगर्नुस् ।’

मानिसले कतिपय काम आवेगमा गर्छ, कति उत्साहमा । कति काम परिणामबारे बेवास्ता गरेरै गर्छ । अनि प्रायः मानिस बढी बोल्छन्, काम कम गर्छन् । तपाईंको पनि यस्तै व्यवहार छ भने सेक्सपियरको यो भनाइ पढ्नुस्, ‘जे गर्न सक्नुहुन्छ त्यही बोल्नुस् । तर, जे बोल्नुहुन्छ त्यही गर्नुस् ।’

विश्वमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन् । तर, निकै कम सिद्धान्त मात्र व्यवहारमा लागू छन् । सेक्सपियरका अनुसार विचार मात्र महत्वपूर्ण होइन । उनी भन्छन्,

‘तपाईं विचारमा जति महान् हुनुहुन्छ, काममा पनि त्यति नै महान् बन्नुस् ।’

धेरै ठाउँमा हामी आफूलाई कमजोर आँकेर सहभागी हुँदैनौँ । यस्तो गतिविधि कति भूल हो थाहा छ रु पढ्नुस् त सेक्सपियरको यो भनाइ, ‘जुन खेल तपाईं खेल्नुहुन्न नि, तब हार्नका लागि पनि सक्षम हुनुहुन्न।’

संसार प्रेमको भोको छ । हरेक मानिस प्रेम र प्रशंसा चाहन्छ । तर, प्रशंसा त्यति सस्तो नभएको सेक्सपियरको भनाइले देखाउँछ । उनले भनेका छन्, ‘आफूले प्रशंसा पाउने चाहना राख्नुहुन्छ भने अरूको पनि प्रशंसा गर्नुस् ।’

पछिल्लो समय मानिसको स्वार्थले आकाश चुमेको छ । यतिसम्म कि कसैको दरिद्रता हेरेर रमाउँछ । सेक्सपियरले भने सहयोगलाई निकै प्राथमिकता दिएका छन्,

‘मेरो मद्दत या उपहार समुद्रजस्तै अनन्त छ र प्रेम पनि । मैले तिमीलाई जति धेरै दिन सक्छु त्यति नै हामी दुईले पाउँछौँ ।’

जीवनमा केही घटना घटिहाल्यो भने हामी आत्तिन्छौँ, न्यास्रिन्छौँ, उदास हुन्छौँ र आफ्नो भाग्यलाई दोष दिएर पन्छिन्छौँ । तर, सेक्सपियर जीवनका घटनाक्रमलाई सामान्य रूपमा लिन सुझाउँछन्, ‘हाम्रो जीवनमा कुनै त्यस्तो राम्रो र नराम्रो भन्ने हुँदैन । त्यस्तो बनाउने त हाम्रो सोचले हो ।’ यद्यपि, उनले भाग्यबारे पनि बोलेका छन् । उनले मानिसको भाग्य स्वयंको हातमा हुने बताएका छन् । त्यसैले जीवनबाट ग्रहण गरेका सफलता र असफलताको भागीदार पनि स्वयं तपाईं नै हो ।

कसैले सानो गल्ती गर्दा पनि उसलाई नकारात्मक दृष्टिले हेर्ने धेरैको बानी हुन्छ । सेक्सपियरले त गल्तीलाई नै प्रश्रय दिएका छन् । भनेका छन् कि कुनै महान् काम गर्नका लागि केही गल्ती पनि गर्नुस् । यसो भन्दैमा जानी–जानी गल्ती गर्नुस् भन्नेचाहिँ होइन ।

‘बुद्धिमान् व्यक्ति बिस्तारै–बिस्तारै अगाडि बढ्छ । जो लक्ष्यप्राप्तिका लागि हतारमा अघि बढ्छ, उसले गल्ती गर्छ र लडी मात्र रहन्छ,’

यो सेक्सपियरको भनाइ हो । जुन वाणीले धैर्य र मिहिनेतको पाठ सिकाउँछ ।

सेक्सपियरले प्रेम गर्न पनि सिकाएका छन् । किनकि, प्रेम पनि जीवनको महत्वपूर्ण पाटो हो । उनले भनेका छन्, ‘तपाईं कसैलाई प्रेम गर्न थाल्नहुन्छ । जब उसबाट तपाईंलाई दुःख मिल्छ, तब अझ बढी प्रेम गर्नुस् ।’ यद्यपि प्रेम अन्धो हुन्छ भनेर पनि उनैले भनेका हुन् ।

प्रायः मानिस अरूलाई कुराउन मजा मान्छन् । र, कुनै पनि भेट वा काममा निर्धारित समयभन्दा ढिला पुग्छन् । सेक्सपियरले भनेका छन्, ‘एक मिनेट ढिलो गर्नुभन्दा तीन घन्टा पहिला पुग्नु कैयौँ गुणा राम्रो हो ।’ यो वाक्यले मानिसलाई व्यक्तित्वको पनि पाठ सिकाउँछ ।

संसारमा धेरै कम मान्छे मात्र भेटिन्छन्, जसले अरूलाई इष्र्या नगरोस् । त्यही कम मान्छेहरूको सिको गर्न भन्छन् सेक्सपियर, ‘इष्र्यासँग सधैँ सावधान रहनुस् । किनकि त्यो राक्षस हो । उसले शरीरलाई तिरस्कार गर्छ र धोका दिन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्