क्यालेण्डरमा लगनै जुरेन



पछिल्लो समयमा मेरो बिहेको कुरा सुन्दा सुन्दै दिक्क भईसकेँ । घर जाँदा आफन्तहरु सोध्छन्, बिहे कहिले गर्ने ? उमेर भएन र ? बुढेसकाल लागेपछि केटा पाइदैन नि ! भन्ने प्रश्नको जवाफमा खिस्स दाँत देखाउनुबाहेक के नै भन्न सकिन्छ र ? अफिसमा पनि यस्तै प्रश्न हुन्छन् । संगैका साथीसंगीहरुको छोराछोरी पनि लभ गर्न लागिसके, तपाईलाई रहर लाग्दैन ? बिहे समयमै गर्नुपर्छ । बुढेसकालको बिहे पनि के बिहे ? यस्तै यस्तै… ।

एक दिन मिल्ने साथीको घरमा गएकी थिएँ । साथीको ससुराले सोध्नु भयो । नानी बिहे कहिले गर्ने ? मैले भने, क्यालेण्डरमा बिहेको लगन नै जुरेन, कसरी बिहे गर्नु ? मेरो उत्तर सुनेपछि उहाँले प्रसंग बंग्याउँु भो । अन्य कुरा गर्न थाल्नु भो । जब म त्यहाँबाट हिँडे अनि ससुरा बा ले फेरी बुहारीसंग सोध्नु भयो रे । पत्रकार बाबु कहिया भोज करही (पत्रकार नानी बिहे कहिले गर्ने हो) ? छिप गैलिन् (उमेर भइसक्यो) ? अनि मेरो साथीले जबाफ दिनुभएछ, ‘का उ फलफूल हुई वा तरकारी हुईटी ? बढ्ना फुल्ना, फर्ना छिप्ना पक्ना व झरजैना । उमेर कना ते एक ठो नम्बर न हो । (के उनी फलफूल वा तरकारी हुन् र ? हुर्किने, फुल्ने, पाक्ने र ओइलाउने । उमेर भनेको त एक नम्बर न हो ।) त्यो दिनदेखि ससुराबाको मुख बन्द भयो । उनले मसंग ससुरा बासंग गरेको कुराकानी जस्ताको त्यस्तै सुनाईन् । साथीको कुरा सुनेर निकै चित्त बुझ्यो । साच्चै यस्तो चित्त बुझ्दो उत्तर त मसँग नि थिएन । र मैले भने, ‘साथी यस्तो विचार भएका सय जना मात्रै भेटिए पनि समाज परिवर्तन गर्न समय लाग्दैन थियो है ।’

गएको बैशाख ८ गते मेरो घरबेटी दाईको छोराको बिहे थियो । बिहेमा ५ देखि ८ कक्षासम्म संगै पढ्ने दुई जना साथीहरुसँग भेट भो । उनीँहरुसंग ११ वर्षपछिको भेट थियो त्यो । भेटेको केही मिनेटमै उनीहरुले ठाडो जिज्ञासा थियो, ‘अहिलेसम्म बिहे गर्नु भएको छैन ?’ मैले पनि उही रेडिमेट उत्तर दिइहाले, ‘क्यालेण्डरमा लगन जुरेन साथी ।’ त्यो दिन धेरैले सोधे, ‘बिहे कहिले गर्ने ? कि पाटी खुवाउने डरले हो ?’ अनि मेरो उत्तर हुन्थ्यो, ‘अहिलेसम्म एकजना केटाले पनि मन पराएनन्, के गर्नु ? कोसँग गर्नु बिहे ? इत्यादी ….

घरबेटी दाईको आमा, उहाँलाई म ठूली आमा भन्छु । एक दिन घरमा एक्लै हुनुहुन्थ्यो । उहाँलाई खान बोलाए । अनी उहाँले पनि सोध्नु भयो, ‘छोरी बिहे गरेकी हौ या होईनौं ? ज्वाईलाई त कहिल्यै देख्दिन ? अनि मैले भनें, ‘तपाईलाई जे लाग्छ, म त्यही हुँ । बिहे गरे जस्तो लाग्छ गरेकी हुँ, नगरे जस्तो लाग्छ अविबाहित हुँ ।’ ठूली आमाले फेरि भन्नुभयो, ‘ठूलो मान्छे भएको देख्दा बिहे गरेको होलान् जस्तो लाग्छ । फेरी ज्वाईलाई कहिलै देख्दैन । खै के खै के ….. ।

कस्तो अचम्म ! जिन्दगी मेरो, बिहेको चिन्ता अरुलाई । कस्तो विडम्वना ! चेतनशील मानिसका लागि विवाह गर्ने कि नगर्ने वा कहिले गर्ने भन्ने उसको व्यक्तिगत खुसी र चाहनाको विषय हो । तर यो समाजले व्यक्तिगतरुपमा खुसी भएको देख्नै चाहान्न । मेरो लाईफ देखेर जल्नेहरु धेरै छन् कि क्या हो जस्तो लाग्छ कहिले त ।

केही वर्ष अगाडि फिल्डको क्रममा घुम्दै फिर्दै म साथीको घर पुगे । सयुक्त परिवार भएकोले घरमा चाडपर्व आए जस्तो रमाईलो थियो । साथीको दाई भाउजुलाई मैले पनि साईनो जोडे । राती हामी त्यो घरको एक भाउजुको कोठामा भाउजुसंगै सुत्यौं । भाउजुले पनि त्यही प्रश्न सोध्नु भयो । जवाफमा मैले भने केटा खोजदिनु न । भाउजुले भन्नु भयो, ‘केटा आफै खोज्नु पर्छ ।’ आमा बुवाले खोजेको केटासँग बिहे गरेर म पछुताईरहेकी छु । मैले सोधे ‘किन भाउजु ?’ उहाँले भन्नुभो, ‘सम्बन्ध राम्रो छैन ?’ के राम्रो भन्नु, के नराम्रो । २५÷२६ वर्ष भन्दा बढि भईसक्यो श्रीमानसंग खुलेर कुरा गर्न नसकेको ।

श्रीमानले २८÷२९ वर्ष अगाडि नै कान्छी ल्याएछन् । त्यो दिनदेखि उनले भाउजुलाई विभिन्न खाले यातना दिन शुरु गरे । ‘अलिकति खुल्न खोज्छु, मुख छाडेर गाली गर्छ । तेरो योनी चिलायो क्या हो… भालु… रन्डी…’ आदि इत्यादी भन्छ’ भाउजुले निकै पीडामिश्रित स्वरमा भनिन् ।

उहाँको कुरा सुनेर मेरो दिमागले केही सोच्नै सकेन । जब दाईलाई सेक्स गर्न मन लाग्छ अनि भाउजुकोमा आउछन् रे । भाउजुसँग एक शब्द पनि बोल्दैनन् । जबरजस्ती यौन सम्बन्ध राख्छन्, र आफ्नो तृष्णा मेटाउँछन् । त्यति मात्रै भए पो । यौन सम्बन्ध राख्दा पनि अप्राकृतिकरुपले राख्ने । हाँतमा नुन र खुर्सानी लिएरै आउँने, र आफ्नो सन्तुष्टि मेटिएपछि भाउजुको योनीमा दल्ने अनि नबोली कोठा बाहिर निस्कने ।

त्यति मात्रै भए पो । यौन सम्बन्ध राख्दा पनि अप्राकृतिकरुपले राख्ने । हाँतमा नुन र खुर्सानी लिएरै आउँने, र आफ्नो सन्तुष्टि मेटिएपछि भाउजुको योनीमा दल्ने अनि नबोली कोठा बाहिर निस्कने ।

पहिला पहिला त झन् बढि यातना दिन्थे रे । मैले सोधे, ‘भाउजु त्यस्तो श्रीमानसंग किन बस्नु भएको ? यतिका समय कसरी बिताउनु भयो ? न्यायको खोजी गर्नु भएन ?’ भाउजुले भन्नु भयो, ‘न्याय खोज्न कहाँ जानु । उसको व्यवहारबारे परिवारसंग कुरा गर्दा म नै दोषी हुन्छु । न्यायको लागि अलिकति आवाज उठाउन खोज्दा परिवारको इज्जत जान्छ रे । श्रीमानले राम्रो नमाने पनि सासु ससुरा एकदमै माया गर्छन् । जसले गर्दा सबै पीडा सहन बाध्य छु ।’

कहिलेकाँही धनगढीबाट गाउँ जान्छु , अनि गाउँका बिबाहित दिदी बहिनी, भाउजुहरुसंग भलाकुसारी हुन्छ । उहाँहरुका बेदना सुनेर पनि बिहेसँग डर लाग्छ । कसैको श्रीमान रक्सी खाएर राती कोठामा पुग्छन् र श्रीमतिसंग जबरजस्ती सम्बन्ध राख्न खोज्छन् । जसले गर्दा झगडा हुन्छ । घरको परिवारलाई समेत थाहा भईसकेको हुन्छ कि, श्रीमानलाई सेक्स गर्न नदिएकै कारण दुईजना बिच झगडा भएको हो । केटी नै यस्तै हो । आफ्नो श्रीमानलाई सुत्नै नदिएपछि त कुटाई खाईहाल्छ नि ! मानौं श्रीमान जतिबेला, जुन अवस्थामा घर आए पनि हुने । अनि उसले चाहेको बेला यौन सम्बन्धका लागि तयार भइहाल्नुपर्ने । यो पनि न्याय हो त ? यस्तो सम्बन्ध पनि टिकाउ हुन्छ ? के महिलाको यौन जीवन हुन्न ?

मेरो एकजना नातापर्ने भाई र बुहारीबिच पनि कहिलेकाँहि झगडा हुन्छ । मेरो भाई धेरै रक्सी खान्छ, जुन कुरा मलाई पनि पटकै मन पर्दैन । दुई जनाको झगडा देखेर एकदिन उनीहरुबिच हुने झगडाको जरो खोतल्न मन लाग्यो । भाईबुहारीसंग सोधे, ‘तर भाई बुहारी खुल्दै खुल्दैन । म कोठामा सुतेकी थिएँ । भाई रक्सीले मातेर राती १२ बजे घर आयो । सरासर आफ्नो कोठा छिर्यो । भाई घर पुगेको १० मिनेटमै बुहारी ‘दिदी’ भन्दै मेरो कोठामा आएर सुतिन् । । मैले सोधे ‘त्यहाँ किन नसुतेको ?’ उनले अलि डर, अलि लाज मान्दै भनिन्, ‘खाली तनाब दिन्छ ।’ पल्लो कोठाबाट आमाको आवाज आयो । ‘खै के हो यीनिहरुको, जहिले यस्तै गर्छन् । तँ नहुदाँ राती आएर ममी सुत्न दिनु न भन्दै मेरो ओछ्यानमा सुत्न आउँछे ।’ म नाजबाफ भएँ । रातभर सोचेँ कतै भाईले रक्सीको मातमा बुहारीलाई जबरजस्ती त गर्दैन ? मनमा धेरै प्रश्न उब्जिए । सोच्दा सोच्दै उज्यालो भयो । चिसो मौसम भएका कारण आँगनमा आगो बलिरहेको थियो । नित्यकर्म पछि म पनि आगो ताप्न गएँ । अनि बुहारीलाई भने । यस्तो झगडा गर्ने श्रीमानसंग पनि कसरी बस्न सकेको ? म भईदिएको भए उहिले नै डिभोर्स दिसक्थें । बुहारी केही बोलिनन् । उता आमा भने मलाई गाली गर्न थालिन् । ‘के भनेको यस्तो… बनेको घर पनि भड््काउन खोज्ने’ भन्दै थर्काइन् ।

मैले देखेको समाज, जहाँ विवाहपश्चात खुशी र सन्तुष्ट जीवन जिउनेहरुको मात्रा निकै थोरै छ । धेरै मान्छे विवाहपछिको पीडा सहँदासहँदै आफू थाकीसकेको बताउँछन् । तर पनि अरुलाई विवाहको लागि उत्प्रेरित गर्न पछि पर्दैनन् ।

अर्को एउटा भाउजुको कहानी पनि उस्तै छ । धन सम्पत्ति टन्नै छ । तर श्रीमान श्रीमतिबिचको सम्बन्ध राम्रो छैन । भाउजु कहिलेकाँही मसंग कुरा शेयर गर्नु हुन्छ कि, ३÷४ वर्ष भईसक्यो दाई भाउजुसंग सुत्न मान्दैनन् । राम्रो लाउन दिएको छैन । राम्रो खाना दिएको छैन । राती संगै सुत्न पनि सुत्दैनन् । महिनामा एक–दुई पटक घर आउँछन् र पनि केही वास्ता गर्दैनन् । गाउँभरी हल्ला छ, अर्को केटीसंग लभ परेको रे । ‘धेरै सम्झाउने प्रयास गर्छु, मैले भनेको मान्दैनन् । म बच्चा लिएर एकातिर हुन्छु, उ अर्कोतिर । कोठा एउटै भए पनि मेरो बेडमा आउँदैनन्’ भाउजुले बेििबस्तार सुनाइन् । उहाँहरुसंग पैसा छ तर सन्तुष्टि छैन । अनि बिबाह गरेको के अर्थ ? केही यस्ता सम्बन्धहरु छन्, जस्का श्रीमान वैवाहिकबलात्कार गर्छन् । तर उ सहेर बस्न बाध्य छे । यस्तो विवाहको पनि के काम ? किन गर्नु यस्तो हुनलाई विवाह ?

हाम्रो समाजमा वैबाहिक बलात्कारको कुरा गर्दा उल्टै मुर्ख बनाई दिन्छन् । वैवाहिक बलात्कार पनि हुन्छ र ? नहुने कुरा । चलन चल्तीको भाषामा ‘पहिला मिलोमतोमा सम्बन्ध राख्छन्, केही गरेर कुरा नमिलेपछि बलात्कार भयो भन्दै केटालाई फसाउँन खोजेको’ आदि इत्यादी कुरा गरेर उल्टै महिलालाई बेवकुफ बनाउँछन् ।

मैले देखेको समाज, जहाँ विवाहपश्चात खुशी र सन्तुष्ट जीवन जिउनेहरुको मात्रा निकै थोरै छ । धेरै मान्छे विवाहपछिको पीडा सहँदासहँदै आफू थाकीसकेको बताउँछन् । तर पनि अरुलाई विवाहको लागि उत्प्रेरित गर्न पछि पर्दैनन् । यो कस्तो समाज ? कहिलेकाँहि त त्यस्ता मानिसहरुसँग दया जागेर पनि आउँछ ।

आफू विवाहको मलामी बनिसक्दा समेत बिहेको महत्व बुझ्दैनन् । र पनि अरुको बिहेबारे ठूलो चिन्ता छ । त्यसैले म भन्छु हरेक मान्छेले जीवन सन्तुष्ट, स्वतन्त्र र खुशी भएर बाँच्नु पर्छ । यदि बाँच्नु नै छ भने आफ्नो लागि बाँच, अरुको लागि किन बाँच्ने ? मेरो खुशी, मेरो सन्तुष्टि र मेरो लाईफ भनेर बाँच्नुस्, जसमा विवाहले कुनै अर्थ राख्दैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्