मलेसिया गएका प्रदीपकुमार चौधरी डेढ वर्षदेखि वेपत्ता



–सैघाली खबर–
काठमाडौं । वैदेशिक रोजगारको लागि मलेसिया गएका उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुरका प्रदीपकुमार चौधरी डेढ वर्षदेखि सम्पर्कविहीन छन् । मलेसिया गएको केही समयसम्म घरपरिवारसँग नियमित फोन सम्पर्कमा रहेका उनी २०७४ साल मंसिर ४ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जानकारी दिएको छ ।

बसुन्धरास्थित पिजन ओभरसिज प्रालिबाट मलेसिया गएका चौधरी मलेसियाको डब्ल्यू.सी.टी. कन्स्ट्रक्सन एसडीएन विएचडी कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा उनी आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर पुनः सोही कम्पनीमा काम गर्न मेलेसिया गएका थिए ।

पछिल्लो पटक गएको केही समयसम्म सम्पर्कमै रहेका उनी एक्कासी सम्पर्क विहिन भएको बुवा सिताराम चौधरीले जानकारी दिए । घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजि कार्य सुरू गरिएको तर अहिलेसम्म उनी नभेटिएको बुबा सितारामले जानकारी दिए । यस क्रममा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा समेत निवदेन दिएको उनले बताए ।

बोर्डले पहल गर्दा मलेसियाका जेल र सेल्टरमा प्रदीपकुमार चौधरी नामको कुनै पनि व्यक्ति नरहेको जानकारी दिएको बुबा सितारामले बताए ।

त्यसैगरी मलेसियामै काम गर्ने उदयपुरका एकजना शुभचिन्तकको सहयोग मलेसियामा कार्यरत कम्पनीमा बुझ्न पठाउँदा उनी त्यहाँ नरहेको कम्पनीको गार्डले जानकारी दिएको बताए ।

प्रदीप ८/१० महिनादेखि नै कम्पनी छाडेर अन्यत्र गएका कम्पनीका गार्डलाई उदृत गर्दै बुबा सितारामले जानकारी थिए ।

मलेसिया पुगेको केही समयसम्म आफूसँग फोन सम्पर्कमै रहेको उनकी श्रीमती कुन्तीदेवी चौधरीले जानकारी दिइन् । घर परिवारसँग सम्पर्क नै विच्छेद हुनुपर्ने कुनै कारण नभएको पनि उनले बताइन् । ‘घरपरिवार र कसैसँग झगडा र नराम्रो पनि भएको थिएन ।’ उनले भनिन्, ‘परिवार, आफन्त, शुभचिन्तक र साथीभाई सबैसँग एक्कासी सम्पर्क विच्छेद भएपछि हामी सबै चिन्तित भएका छौं ।’ फेसबुक म्यासेन्जर र मलेसियामा नम्वरमा इमो भाइवरमा नियमित सम्पर्क भइरहेकोमा सोही मिति देखि मोवाइल, फेसबुक सबै निष्क्रिय भएको पनि उनले जानकारी दिइन् ।

‘न लाश भेटिन्छ, न सास । कहाँ हरायो त मेरो छोरा ?’ प्रदीपकी आमा सन्ध्यादेबी चौधरीले रूदै भनिन्, ‘नेपाल सरकारका साथै सहयोगीहरूलाई खोज्न आवश्यक सहयोगका लागि अपिल गर्दछु ।’

उनको खोजी कार्यमा आवश्यक सहयोग गरिदिन पनि परिवारले अपिल गरेको छ ।

३२ वर्षीय प्रदीपकुमार चौधरीका १३ वर्षका एक छोरी र ८ वर्षको एक छोरा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्