भारतीय क्षेत्रमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै



चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।

चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६ दिनसम्म त्यहाँका ट्राभल एजेन्सी, होटल व्यवसायीलगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको यस कार्यक्रममा ती स्थलहरुमा गरिने कार्यक्रममा चितवन, रुपन्देहीसहित नेपालका विभिन्न क्षेत्रका पर्यटकीय महत्वका गन्तव्यहरुका बारेमा जानकारी गराइनेछ ।

यहाँ पर्यटनको हिसाबले बेमौसमको समय पारेर व्यवसायीहरु ती शहरहरु जान लागेका हुन् । नेपालका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको विहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गर्ने भएको छ ।

सो क्षेत्रबाट एकै दिन यहाँ पर्यटक आउन सक्छन् । सो क्षेत्रको भन्दा नेपालको तापक्रम कम भएकाले नेपालमा भारतीय सीमा क्षेत्रबाट पर्यटक भित्र्याउन सकिने उद्देश्यका साथ शुरु गर्ने यो अभियानलाई सरकारले सहयोग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्