सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै



सैघाली खबर,
बैतडी १ असोज,।
सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको बताइन्छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको भनाइ छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।

ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छ ।

गाई गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन् । दोबाटामा जलाइएको पुतनाको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका अलिक उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ ।

सो थुप्रालाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ । सो बूढीलाई नै आज असोज संक्रान्तिका दिन साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ ।

गोठालाहरु साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने गर्छन् ।
त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटा बाटामा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्