बैशाख २, काठमाडौं। नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पूजा अर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडे । तर, उनीहरू स्वर्गद्वारी पुग्न पाएनन् । उनीहरू सवार लु.१ज १६५५ नम्बरको जिप बुधबार बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दुर्घटना भयो । दुर्घटनामा पाँचको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने सूर्यप्रसाद पन्थी र गम्भीर घाइते कमला ज्ञवाली दिदीभाइ हुन् । कमलाले भाइ गुमाइन्, आफू र छोरा सार्थक ज्ञवाली गम्भीर घाइतेछन् । अहिले सूर्य र कमलाको परिवार शोकमा डुबेको छ । दुर्घटनामा प्रशासन कार्यालयका सुनिता कँडेल, तारा भण्डारी, दिलबहादुर थापा, गीता बोहोरा मुखिया र छोरा अनिश मुखिया घाइते भएका छन् ।
जिपमै सवार वसन्ती पौडेल र उनका चार वर्षीया छोरी निकिता पौडेल, ६ वर्षीय आशिष भण्डारी पनि घाइते भएका छन् । प्युठान दुर्घटनामा गम्भीर घाइते कमला ज्ञवाली र छोरा सार्थक ज्ञवाली, गीता मुखिया र छोरा अनिश मुखिया, सन्दीप परियार र मुना पाण्डेलाई थप उपचारका लागि नेपाली से’नाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
जिप दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीले ज्यान गुमाए । न्यौपाने स्याङ्जाबाट गुल्मी मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन आएका थिए ।
बाँकी पाँच घाइतेको प्युठानकै बिजुवार र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति छ । मृतक श्याम न्यौपाने प्रशासकीय अधिकृत हुन् । उनले प्रशासनको नागरिकता फाँटको महत्वपूर्ण काम गरिरहेका थिए । सूर्य पन्थी पनि नागरिकता शाखाकै कम्प्युटर अपरेटर हुन् । उनले नागरिकतासम्बन्धी विवरण संकलन तथा प्रिन्ट गर्ने काम गर्थे । यमलाल पन्थीले नागरिकताकै प्रतिलिपि शाखामा काम गर्दै आएका थिए ।
ईश्वरी भण्डारीले मुद्दा शाखामा काम गरिरहेका थिए । अन्य शाखाका कर्मचारी र कार्यालय सहयोगीसमेत घाइते भएका छन् । जसका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रशासनका महत्वपूर्ण फाँटकै कर्मचारीहरूको दुर्घटनाले स्तब्ध बनायो उनले भनिन् शोकलाई शक्तिमा बदलेर सेवा प्रवाह व्यवस्थापन गर्छौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।