अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने



 काठमाडौँ, १३ जेठ

स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।

बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले विसं २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही रु १० लाख आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ ।

साथै, बैठकले शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्