कता हराए चमेरा



प्रकाश नेपाल

दाङ १६ साउन । बेलुका अन्धकार नहुँदै आफ्नो आहाराको खोजीका लागि उड्ने दुर्लभ स्तनधारी पंक्षीका रूपमा ठानिने चमेरा यतिखेर क्रमिक रूपमा हराउँदै गएका छन् । तानसेनको अमरनारायण फूलबारीका अग्ला–अग्ला रुखलाई आफ्नो बासस्थान बनाएका चमेरा बिहानको मिर्मिरे उज्यालो सँगसँगै आफ्नो बासस्थानमा फर्किने हजारांै सख्याका चमेरा यतिखेर पुरानो बासस्थानमा एक सयको संख्यामा पनि नभएको स्थानीय बासिन्दा प्रदिप उदय बताउँछन् ।

उदयका अनुसार कुनै समय फूलबारी नजिकको अमरनारायण मन्दिरमा विहानको पूजा भएका बखतमा घण्ट बज्नासाथ आफ्नो बासस्थानमा फर्किने र बेलुका पूजाको समयमा मन्दिरको घण्ट बज्नासाथ आफ्नो आहाराका लागि उड्ने चमेराहरू लोप हुने अवस्थामा पुगेका छन् ।

ठूला ठूला रुखमा आफ्ना पखेटामा भएको खुट्टाको साहाराले झुण्डिने, खानाका रूपमा पूर्ण रूपले शाहाकारी, विश्वकै एक मात्र स्तनधारी उड्ने जीव चमेरा २०४२ साल तिर तानसेनबाट केही मदनपोखरको दमकडा त केही अर्गलीको पीपलका रूखमा आफ्नो बासस्थान बनाएको स्थानीय बासिन्दाहरू बताउँछन् । तानसेनका स्थानीय बासिन्दा दिपेन्द्र श्रेष्ठले पनि कहिले देखि तानसेनको अमर नारायण नजिकको फूलबारीमा चमेरा बसेको हो भन्ने यकिन आधार र प्रमाण नभएको बताउँछन् । चमेरा बसेको दुई सय बर्ष भन्दा पनि बढिनै भएको उनी बताउँछन् । यहाँ आउने विदेशी पर्यटकलाई चमेराको फोटो खिच्नका लागि आफूले धेरै पटक फूलबारी सम्म पु¥याएको बताउँदै श्रेष्ठ भन्दछन्–‘स–साना बालबच्चाले गुलेलीले हानेर मार्ने, तल खसाल्ने, घाइते बनाउने, जस्ता कार्य पनि गरे त्यसैले असुरक्षित भएका कारण अन्यत्र गएका हुन् ।’

चमेरा फरक क्षमता र फरक प्रकृतिको जीव हो । उज्यालोमा आँखाले देख्न नसक्ने, जमिनमा बसेपछि उड्न नसक्ने त्यस्ता दुर्लभ जीवको संरक्षण गर्ने तर्फ कहिँकतै बाट पहल नगरेका कारण लोप हुने अवस्थामा पुगेको तानसेनका समाजसेवी तथा शिक्षा विद् वुद्धि प्रसाद शर्मा बताउँछन् । चमेरा हराउनुमा बासस्थानको समस्या भएको उनले बताए । अर्कोतर्फ रुखको नजिकबाट साना ठूला सवारीका साधन गुड्नु पनि चमेराका लागि अभिशाप भएको शर्माले बताए । दमकडाका स्थानीय बासिन्दा तथा अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका सचिव सुरेश कुमार भट्टराई पनि दमकडाबाट चमेरा हराउनुमा बासस्थानको समस्याका कारण नै बताउँछन् । ठूला ठूला पिपलका रुखमा सयौंको संख्यामा देखिन्थे । तर आज भोली तिनै रुखमा कताकता एक÷दुई वटा मात्र भेटिन्छन् । रुखका हाँगा विद्यालयका फर्निचर निर्माणका लागि काटिए । अर्को तर्फ दमकडाको पिपलको रुखमा खागोले गोला बनाउने केटाकेटी खागोका गोलामा गुलेलीले ढुंगाले हान्ने । उडेको खागोले चमेरालाई टोक्ने जसले गर्दा चमेराले रुखै नै छाड्नु पर्ने भयो । यहाँका चमेरा कहाँ पुगे भन्ने बारे भने आफु अनविज्ञ नै रहेको उनले बताए । लोप हुने अवस्थामा रहेको जीवको सबैले संरक्षण नै गर्नु पर्ने सचिव भट्राइको जोड रहेको छ ।

रुखका कलिलो फलफूललाई आफ्नो आहारा बनाउने चमेरा लोप हुने अन्तिम घडीमा नै पुगेको पंक्षीविद् दिनेश गिरी बताउँछन् । गिरीका अनुसार सार्वजनिक स्थानमा अब ठूला ठूला रुख नै छैन् । अब त्यसले गर्दा बासस्थान नै हरायो । अर्को तर्फ उचित आहारा नै छैन् । किसानहरूले फलफूलमा विषादीको प्रयोग गर्न लागे विषादीका कारणले गर्दा पनि हराएका हुन् । चमेरा संरक्षणका लागि राज्यले निती बनाएर कार्यान्वयन तहमा जानु पर्ने उनको सुझाव रहेको छ ।

कृषि तथा बाली उत्पादनका क्षेत्रमा समेत चमेराको पनि कम महत्व रहेको छैन् । त्यसैले यसको संरक्षण गर्न जरुरी छ । अब ठूला ठूला रुख कटानी गर्न रोक्नुपर्दछ । ठूला रुख निकुञ्ज तथा आरक्षण मात्र भेटिने गर्दछन् । यही ठूला रुख विनाश भएकै कारण बासस्थानको समस्याले गर्दा लोप हुने अवस्थामा पुगेको पंक्षीविद् गिरीको भनाइ छ । अर्गलीमा पनि यही कारणले एक पछि अर्को गरी सबै हराउदै गए । बासस्थानको र आहाराको समस्याले गर्दा यहाँबाट हराउदै गएको हो । अर्को तर्फ पहिला पहिला यति धेरै यातायातका साधनहरू थिएनन् रुखको फेद्को जमिन आजभोली ट्याक्टरले जोत्ने गर्दछ । ट्याक्टरको आवाजले गर्दा पनि यहाँबाट अन्यत्र गएको स्थानिय बासिन्दा बेनीराम गैरे बताउछन् । अर्गलीमा विहान बेलुका चमेरा उड्दा साह्रै रमाइलो हुन्थ्यो तर आजभोली सुनसान छ । किन ? कसरी हरायो ? भन्ने कसैलाई केही थाहा छैन् । संरक्षण गर्न तर्फ कसैले पहल नगरेका कारण हराएको हो उनले भने । चमेरा लोप हुनुमा विषादीको बढ्दो प्रयोग पनि हो । फलफूलमा विषादीको प्रयोग बढ्यो विषादी यूक्त फलफूललाई चमेराले आफ्नो आहारा बनाउँदा चमेरा नै कालको आहारा बनेको उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्