प्रधानमन्त्री देउवाको प्ररतिबद्धता -डाक्टर केसीका माग तत्काल सम्बोधन हुन्छ



 

सैघाली खबर, काठमाडौं, साउन २७ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वपक्षीय बैठक बोलाएर अनसनरत डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, माथेमा कार्यदलका सदस्य डाक्टर भगवान कोइराला, संसदीय समितिकी सभापति रञ्जु झा, केसीसँगको वार्ताका लागि गठिन सरकारी समितिका सदस्यलगायतसँग छलफल गर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले माथेमा कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न संसदीय समितिलाई आग्रह गरेको शिक्षा सचिव श्रेष्ठले बताउनुभयो । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलबाट पारित विधेयकमा काठमाडौंमा नै निजी मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको छ ।

तर अनसनरत डा।केसीले केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार काठमाडौंमा कुनै पनि नयाँ मेडिकल कलेजलाई अनुमति दिन नहुने अडान राख्नु भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको अहिले बसिरहेको बैठकले माथेमा कार्यदलको भावना समेटेर विधेयक तयार पार्ने छ ।

अनसनरत डा। गोविन्द केसीका माग पुरा नभएसम्म देशभरका चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा नफर्किने घोषणा गरेपछि सरकारले फेरि छलफललाई तिब्रता दिएको छ । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिन सरकारी चिकित्सक संघ गोदानको आव्हानमा सरकारी चिकित्सकले शुक्रबार सेवा बन्द गरेका हुन् ।

तर अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराएको संघले जनाएको छ । संघले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न डाक्टरलार्ई अनुरोध गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्