‘३०३ मेनपावर बन्द गर्नेहरुको के भर ? लोकतान्त्रिक समूहले जितेन भने फेरि पनि धेरैको व्यवसाय बन्द हुनेछ’



काठमाडौं । काठमाडौंको सामाखुसीमा आइतबार आयोजित भेलामा परिचय दिने क्रममा कांग्रेस निकटको लोकतान्त्रिक समूहका उम्मेदवारहरूले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्नेभन्दा पनि पेलेर ठूलो अन्याय गरेको बताए ।

लोकतान्त्रिक समूहको पूरै प्यानललाई विजयी गराउन अपील गर्दै उनीहरूले अबका दिनमा कुनै पनि व्यवासयीहरूलाई समस्या पर्दा आफूहरू सबैभन्दा अगाडि गएर अन्यायका विरुद्ध संघर्ष गर्ने प्रतिवद्धता जनाए ।

लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार विष्णु गैरेले संघका अहिलेका अध्यक्ष रोहन गुरुङले श्रममन्त्रीसँग भेटेर वैदेशिक रोजगार व्यवासयीहरूको समस्या र मागका बारेमा स्पष्ट रुपमा भन्न नसकेको आरोप लगाए । ‘लोकतान्त्रिक समूहले जित्यो भने दुई वर्षसम्म हामीले व्यवसायीहरूका मागलाई सम्बोधन गर्नेछौँ’, उनले भने, ‘यो समस्या भनेको कांग्रेस वा कम्युनिस्टको मात्रै होइन । सबै व्यवसायीहरूको समस्या हो । कांग्रेस, कम्युनिस्ट नभनेर लोकतान्त्रिक समूहलाई विजयी बनाउन अपील गर्छु ।’

वैदेशिक रोजगार व्यवसायीहरू दुई करोड धरौटी राख्नका लागि संघका अध्यक्ष रोहन गुरुङ नेतृत्वको कार्यसमितिले लिखित रुपमा सिफारिस गरेका कारण दुःख भएको भन्दै धेरै व्यवसायीहरूको मेनपावर कम्पनी बन्द भएको गैरेले बताए । उनले भने, ‘लोकतान्त्रिक समूहले जित्न सकेन भने फेरि पनि धेरै व्यवसायीहरूको व्यवसाय बन्द हुनेछ ।’

दुईतिहाइको कम्युनिस्ट सरकारले सबै मेनपावर व्यवसायीहरूलाई वर्षमा एक सय जना रोजगारीमा पठाउनै पर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था पूरा नगर्नेलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ । प्रथम उपाध्यक्षका उम्मेदवार कमल तामाङले नेपाली कांग्रेस निकटका व्यवसायीहरू विभाजित हुँदा अर्को समूहले फाइदा लिएको बताए ।

उनले व्यवसायीहरूव विभाजित हुँदा सरकारले थुन्नेदेखि विभिन्न तनाव दिएर व्यवसायबाट पलायन हुने अवस्था सर्जना गरेको बताए ।

लोकतान्त्रिक समूहले जित्यो भने कुनैपनि व्यवसायीलाई समस्या पर्दा सबैभन्दा अग्रपंक्तिमा आफू उभिने तामाङले उल्लेख गरे ।

महासचिवको प्रत्याशी सुजितकुमार श्रेष्ठले मलेसियाको समस्या १६ महिनासम्म अड्काएर राखेर श्रममन्त्रीले व्यवसायीहरूलाई ठूलो समस्यामा पारेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका केही व्यवसायीहरूले श्रममन्त्री गोकर्ण विष्टलाई उकासेर धरौटी र मलेसियाको विवाद सिर्जना गरेको आरोप श्रेष्ठले लगाए ।

कोषाध्यक्षकी उम्मेदवार ईन्दिरा गुरुङले वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले अपराधीका रुपमा

चित्रित गरेको भन्दै चिन्ता जनाइन् । हाम्रो पेशा व्यवसायलाई बदनाम गर्ने कार्य भएको छ’, उनले भनिन्, ‘अब व्यवसायीहरूलाई सम्मानपूर्वक व्यवसाय गर्ने वातावरणका लागि लोकतान्त्रिक समूहको प्यानले जित्यो भने पहल गर्ने छौँ ।’

कार्यक्रममा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरे, विमल ढकाल, तिलक रानाभाट, प्रज्ञान न्यौपानेसहितका व्ययवसायीको उपस्थिति रहेको थियो ।लोकतान्त्रिक समूहबाट अध्यक्षमा विष्णु गैरे उम्मेदवार बनेका छन् ।

प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा ईन्दिरा गुरुङलाई फोरमले उम्मेदवार बनाएको छ ।

सदस्यहरूमा कर्णराज कटुवाल, दिनेशकुमार राय ‘राहुल’, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर ‘नरेन्द्र’, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल उम्मेदवार बनेका छन् ।वैदेशिक रोजगार व्यसायी संघको नयाँ कार्यसमितिका लागि असोज ७ गते काठमाडौंमा निर्वाचन हुँदै छ ।

नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले आफूलाई यस पटक एकजुट बनाएर प्रचार प्रसार गरेको छ ।वैदेशिक रोजगार व्यवसायीहरूलाई तह लगाउने गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले धरौटीदेखि हरेक क्षेत्रमा पेलेर लगेकै बेला संघको निर्वाचन हुँदै छ । निर्वाचनमा यो विषय प्रमुखताका साथ उठ्नेछ ।

संघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटबाट सरोज पोखरेलको नेतृत्वमा टिम खडा गरिएको छ ।

नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीहरूका बीच विवाद छ ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा शनिबारसम्म ६ सय ५८ जना व्यवसायीहरूले सदस्यता नवीकरण गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्