‘वैदेशिक रोजगार व्यवसायीहरूलाई दुश्मन ठान्ने दुई तिहाइको कम्युनिस्ट सरकारलाई पाठ सिकाउन अपील’



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले देशको अर्थतन्त्र धान्न ३३ प्रतिशत भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीहरूलाई दुश्मन ठान्ने दुईतिहाइको कम्युनिस्ट सरकारलाई पाठ सिकाउन अपील गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिको निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आइतबार काठमाडौंको सामाखुसीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता लेखकले वैदेशिक रोजगारीले नेपालको ३३ प्रतिशत हिस्सा ओगटेको बताए ।

‘वैदेशिक रोजगारीले नेपालको ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसमा वैदेशिक रोजगार व्यवसायीको विशेष भूमिका छ’, उनले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई दुश्मन ठानेको छ । शुत्रवत व्यवहार गरेको छ । नेपाली कांग्रेसलाई यो कुरा सह्य छैन ।’

नेता लेखकले कांग्रेस कुनै दिन अनुकूल परिस्थितिमा भयो भने दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई दिएको तनाबलाई ऐन, कानूनमा संशोधन गरेरै भएपनि राहत दिने प्रतिवद्धता जनाए ।

‘वैदेशिक रोजगारीमा केही समस्या छ भने आपसी सहमति र सल्लाह गरेर समाधान खोज्न सकिन्छ’, उनले भने, ‘वैदेशिक रोजगार व्यवसायीहरूलाई दुश्मन देख्ने अहिलेको सरकारको नजर ठीक छैन ।’

विष्णु गैरे नेतृत्वको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीहरूको समूहको पछाडि नेपाली कांग्रेसको साथ रहेको नेता लेखकले बताए । उनले लोकतान्त्रिक समूहलाई विजयी बनाएर सहयोग गर्न अपील गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्