आज अन्तिम लडाइ हुँदै कोले मार्ला त बाजी ?



काठमाडौँ  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे २७ औँ साधारणसभा तथा निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनसमेत हुने साधारणसभा भएका कारण यो साधारणसभालाई निकै महत्वका साथ हेरिएको छ ।

निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट मेनपावर व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहबाट उम्मेदवारी घोषणा भएको छ । निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर भिड्ने निश्चित भएको छ ।

काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको नेतृतवमा उम्मेदवारी घोषणा गरिएको छ । सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा भएकोे छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ । अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्या्दित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने बताएका छन् । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रूपमा उम्मेदवारी दिएको निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए ।

संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् ।सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएको संंयोजक भन्तनाले जानकारी दिए । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

मेनपावर धरौटी बढाएसँगै ८५४ मेनपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । सङ्घको नेतृत्व हातपार्न उम्मेदवारहरुले अन्तरक्रिया, छलफल, तथा भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् भने चुनावी रणनीति बनाउन व्यस्त छन् ।

वर्तमान कार्यकाल संघको नेतृत्व हात पारेको प्रगतिशील समूहलाई यो कार्याकाल संघले केही काम गर्न नसकेको र व्यवसाय र वयवसायी नै संकटमा परेको जस्ता आरोप लागेको अवस्थामा लोकतान्त्रिक समूहको नेतृत्व दाबी थप बलियो बनेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्