वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ साधारणसभा चल्दै

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन श्रम मन्त्रीको आग्रह


नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ साधारणसभा काठमाण्डौंको होटल हायातमा चलिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण विष्टले मन्त्रालय व्यवसायीलाई धरासायी बनाउने होइन बरु श्रम गतिविधिलाई व्यवस्थित गर्न लागिपरेको बताए । उनले कम्तिमा एकमहिनाको तलब बराबरको सेवाशुल्क प्रवर्धक कम्पनीले पाउने गरी श्रम सम्झौता भइरहेको बताए । उनले ब्यवसायीको गतिविधिले मर्यादा उल्लंघन गर्न नहुने पनि बताए । उनले भने, “वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

उदघाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले व्यवसायीका समस्या समाधान गर्न सम्बन्धित मन्त्रीले ध्यान दिने अपेक्षा गरे । उनले ब्यवसायीको नयाँ कार्यसमितिमा योग्यहरू भित्रको योग्यतम व्यक्तिहरू छनोट गरी वैदेशिक रोजगार व्यवसायीका समस्याहरू समाधान होउन् भन्दै शुभकामना व्यक्त गरे ।

उदघाटन सत्रपछि दिउँसो ३ बजे नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया थालिने अध्यक्ष पदका उमेदवार सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । ६५८ मतदाता प्रतिनिधिको नामावली प्रकाशित भएको निर्वाचन प्रक्रियामा विभिन्न १७ पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ ।

नेकपा सहितको संयुक्त प्यानलबाट बलियो उपस्थिति जनाएका सरोज कुमार पोखरेललाई चुनौती दिँदै लोकतान्त्रिक व्यवसायी विष्णुप्रसाद गैरेले बलियो दाबेदारी पेश गरेका छन् ।

व्यवसायीहरुका समस्या समाधान, धरौटी रकममा कटौती, प्रवर्द्धन शुल्कको वृद्धि जस्ता विषयले अहिलेको चुनावी प्रतिबद्धतामा प्रधानता पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्