फण्टासी पुराण

लघुकथा


खाना खाने बेला थियो । पण्डित पत्नीले पण्डितलाई भनिन, “तपाई धेरैजसो घरमा बस्न पाउनुहुन्न । पुराण लगाउन हिड्दै जिन्दगी जाने भइगयो । सबैले भन्छन राम्रो बाचन गर्नुहुन्छ रे । हामीलाई कतै लैजानुहुन्न । हामीले पनि त सुन्न पाए हुन्थ्यो ।”

पण्डित प्रशंसा सुनेर मक्ख परे र भने, “केटाकेटीको पढाई र हेरचाह गर्नपर्ने हुँदा तिमीलाई लैजान पाइन । बरू केहि दिन फुर्सद पनि छ । म तिमीहरूको लागि घरमै रामयण र महाभारतको पुराण सुनाउछु । सुन्ने मात्र होइन केहि ज्ञान पनि लिनुपर्छ ।” पण्डित पत्नीले स्वीकारिन । छोराछोरीहरूलाई खेल्न पनि नदिएर सुन्न बाध्य बनाए । बाध्यतावस स्वीकारे । पण्डितले दुबै पुराणका कथाहरू सुनाउन शुरु गरे । सके ।

पुराण सकेको दिन साङ्गे पूजा गरे र बेलुका प्रसाद खाएपछि पण्डितले परिवारलाई संगैराखेर कथाका बारेमा सोधे । पालेपालो भन्न थाले । पहिला कान्छो छोराले भन्यो, “महाभारतमा मलाई त कृष्ण मन पर्यो । सोह्रसय गोपिनीहरूले कत्ति धेरै मायाँ गरेको है !! म पनि ठूलो भएपछि त्यत्ति नै धेरै गर्ल्फ्रेण्ड बनाउँछु । क्या मज्जा आउछ होला !!” पण्डित बोलेका थिएनन ।

जेठो छोराले पनि भनिहाल्यो “रामायणमा सीता खोज्न हिंडेका राम फर्केर आउँने बेलासम्ममा बाउको काजकिरिया केहि पनि गर्नै परेन । उसलाई त क्या मज्जा भयो । म पनि विदेश गए भने त ‘। । ” छोरी पनि के कम उसले पनि सुनाइहाली, “मलाई त महाभारतको कुन्तीको ‘लाईफ’ पो मनपर्यो ।

बच्चा जन्माउन बिवाह नै गर्छ भन्ने त देउताको पालामा पनि रहेन छ नि । म पनि बिवाह गर्दिन ।” पण्डितले श्रीमतिको मुखमा हेरे । पहिला उनी बोलेनन तर अब चाहिँ बोल्न नसक्ने भएका थिए । श्रीमतिले पनि जिज्ञाशु पाराले पण्डितलाई सोधिन, “द्रोपदीले जस्तो पाँचजनासम्म पति राख्न पाउने चलन अहिलेसम्म चलिरहेको भएपनि के हुन्थ्यो ? द्रोपदीलाई त क्या मज्जा । घरमा एकजना न एकजना पतिले कहिल्यै खाँचो भएन होला ।” परिवारको पनि फण्टासी पुराण सुनिसकेपछि पण्डित सास फेर्न पनि नसक्ने भइसकेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्