हाम्रो समाजमा नपुजिएका नारीका नौ रुप



नेपालीहरुको महान चाड बडादशैं अहिले चलिरहेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन प्रत्येकको घरघरमा घटस्थापना गरी दशैंको शुरुवात गरिन्छ । यो क्रम ९ दिनसम्म चल्छ । यि ९ दिनमा नवदुर्गाका विभिन्न ९ स्वरुपको पुजाआजाका साथै विभिन्न नामले चर्चा र परिचर्चा पनि गर्ने गरिन्छ । सामाजिक सद्भाव र उमंगको यो पर्वसँग विभिन्न सांस्कृतिक, धार्मिक पक्ष जोडिएको छ । दशैं खासगरी असत्यमाथि सत्यको जीत हुन्छ भन्ने प्रतीकात्मक सन्देशसँगै मनाइन्छ । नवदुर्गाले समग्र नारी शक्तिको समेत प्रतिनिधित्व गर्ने धर्मशास्त्रमा उल्लेख गरेको पाईन्छ । अर्थात एक स्त्रीको पूरा जीवनचक्रको बिम्ब र प्रतिबिम्ब हो । नारीको नवदुर्गाको नौ स्वरूप बडा दशैंमा नवदुर्गाका यि ९ रुप पनि वर्तमान नारीले धारण गरेकै रुप हुन् । जसबाट नारीहरु आफै अनभिज्ञ छन् ।

जब एक कन्याले जन्मग्रहण गरेको हुन्छ कन्याको त्यस स्वरूपको अवस्थालाई ‘शैलपुत्री’ भनिन्छ । शैलपुत्री भनेको एउटा छोरीको रुप हो । जन्मपछि सबै शीलस्वभावमा शैलपुत्री हुने बिस्तारै कौमार्य अवस्थासम्म प्रबेश गरेको हुन्छ त्यो स्वरूपको अवस्थालाई ‘ब्रह्मचारिणी’ भनिन्छ ।  यो नवदुर्गाको दोस्रो रुप नारीको किशोरावस्थाको समय हो । ब्रह्मचारिणी नियमदेखी विवाह पूर्वसम्म एक कन्या चन्द्रमा जस्तै निर्मल हुने भएको हुनाले त्यो स्वरूपको अवस्थामा नारीलाई ‘चन्द्रघण्टा’ भनिन्छ ।

यो नवदुर्गाको तेस्रो रुप हो । यो अवस्था भनेको नारीको यौवनको अवस्था हो । जुन अवस्थामा उनि रुप र गुणले भरिपुर्ण हुन्छिन । उनि कसैको धर्मपत्नी बन्न योग्य हुन्छिन् । चन्द्रघण्टाको नियमदेखी विवाह सम्पन्न भए पश्चातको ब्रह्मविधान अनुसार नयाँ सृष्टि को लागि गर्भधारण गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कूष्माण्डा’ भनिन्छ । यो नवदुर्गाको चौथो रुप हो । यो अवस्था भनेको नारीको गर्भावस्था हो । जुन अवस्थामा उनि आमा बन्न योग्य हुन्छीन् ।

Advertisement
Advertisement

कुष्माण्डा नियमदेखी गर्भधारण गर्ने र गर्भधारण पछि सन्तानलाई जन्मदिन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘ स्कन्दमाता’ भनिन्छ । यो नवदुर्गाको पांचौ रुप हो । यो अवस्था भनेको नारीको आमा बन्ने अवस्था हो । जुन अवस्थामा उनि ठुलो दुख पीडा सहेर अर्को प्राणीलाई जन्म दिन्छीन् । आफ्नो सन्तानलाई जन्म दिएर सन्तानको रेखदेख र सम्पूर्ण परिवारलाई रेखदेख गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कात्यायनी’ भनिन्छ । यो नवदुर्गाको छैठौं रुप हो । यो अवस्था भनेको नारीको आमा भईसकेपछिको अवस्था हो । जुन अवस्थामा उनि आमा संगै एउटा धर्मपत्नी, बुहारी, भाउजु, जेठानी, देउरानी, छोरी लगायत सम्पुर्ण जिम्मेवारीले घेरिएकी हुन्छिन् र पनि सजिलै जिम्मेवारी पुरा गर्न सक्ने क्षमता उनिमा हुन्छ ।

सन्तानको रेखदेख र संरक्षण गर्नसक्ने क्षमतादेखी लिएर कुनै समस्या परेमा, आफ्नो पतिलाई पनि आफ्नो दृढ संकल्पद्वारा नै अकालमृत्यु हुनबाट बचाउन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कालरात्रि’ भनिन्छ । यो नवदुर्गाको सातौं रुप हो । यो अवस्था भनेको नारीको सन्तान हुर्काउंदै भविष्यको बारेमा सोच्ने समय हो । जुन अवस्थामा उनि आफ्नो पतिको रक्षा गर्छिन् । भविष्यको बारेमा पतिलाई सल्लाह दिन्छिन्, उसको हरेक सुख दुखमा साथ दिन्छन्, यदि पति कुनै अप्ठेरो अवस्थामा छ भने उसको कठिन परिस्थितीमा काली बनेर लड्न तयार हुन्छिन् ।

आफ्नो पतिको संरक्षणको लागि मृत्युसंग पनि लड्ने क्षमतादेखी लिएर यस संसारको आफु र आफ्नो पतिको (नाता आफन्त नै उसको लागि संसार हो) उपकार गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘महागौरी’ भनिन्छ । यो नवदुर्गाको आठौं रुप हो । यो अवस्था भनेको नारीले आफ्नो सबै समय घरपविारका लागी खर्च गर्ने समय हो । जुन रुपमा उनि आफैलाई नै भुलेर सासु, ससुरा, जेठानी देउरानी, नन्द आमाजु , भाञ्जा ,भाञ्जी लगायत आफ्नो पतिको नाता गोतालाई आफ्नो संसार ठानेर रमाउछिन । त्यो क्षमता उनिसंग हुन्छ ।

पतिको सम्पुर्ण कार्य सम्हाल्ने क्षमता देखी लिएर यस संसारको अन्तिम सत्य प्राप्त गरेर मृत्युलोक छोडेर स्वर्ग प्रयाण गर्नु भन्दा पहिले संसारमा आफ्नो सन्तानको सिद्धि (सुख(शान्ति) प्राप्त होस भनेर आशीर्वाद दिने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘सिद्धिदात्री’ भनिन्छ । यो नवदुर्गाको नवौं अर्थात अन्तिम रुप हो । यो अवस्था भनेको नारीको अन्तिम अवस्था हो । जुन रुपमा उनि आफ्नो अवस्थामा पनि आफ्नो परिवारकै बारेमा सोच्छिन् । आफ्ना सन्तानहरु छोरा बुहारी, छोरी ज्वाई र नाती नातीनाहरुको शुख शान्तीका लागी तिर्थ ब्रत गर्छिन र आशिस दिन्छिन् ।

यो सवै कुराहरु यदि गहिरिएर सोच्ने हो भने आखिर पुजीनुपर्ने त याहां नारी नै रैछ नि हैन र ? तर खै त हाम्रो समाजमा शैलपुत्रीको नाममा छोरीहरु पुजिएका, ब्रहमचारीणीको नाममा किशोरीहरु पुजिएका , चन्द्रघण्टाको नाममा धर्मपत्नीहरु पुजिएका , कुष्माण्डाको नाममा गर्भवतीहरु पुजिएका , कात्यायीनीको नाममा आमाहरु पुजिएका,स्कन्द मताको नाममा बुहारीहरु पुजिएका , कालरात्रीको नाममा महिलाहरु पुजिएका ,महांगौरीको नाममा भाउजु जेठानी देउरानीहरु पुजिएका र सिद्धिदात्रीको नाममा सासुहरु पुजिएका ?

तर, यहाँ त शैलपुत्रीहरुलाई गभैमै तुहाईन्छ, राम्रो शिक्षा दिक्षा दिईदैन, ब्रह्मचारीणीहरु आफन्त भनिने दानवरुपी पुरुषहरुबाट बलात्कृत हुन्छिन् । हजारौं चन्द्रघण्टाहरु आफ्नै पतिबाट पिडित छिन् । कयौं कुष्माण्डाहरु बाध्यताले गर्भ बोकीरहेका छन् । कयाैं कात्यायनीहरु समाजमा बाच्न नसकेर सन्तान सहित मर्न वाध्य छन् । कयौं स्कन्दमाताहरु आफ्नै नातागोतहरुसंग मिलेर बस्न सक्ने अवस्था छैन । कैयौँ कालीहरु आफ्नो पतिको सुरक्षा गर्न सक्दैनन् । र सयौं शिद्धदात्रीहरु विभिन्न आश्रममा रुँदै दिन बिताईरहेका छन् ।

जबसम्म नारीका यि नौ रुपलाई हाम्रो समाजले पुज्दैन र सम्मान गर्दैन तबसम्म यि काल्पनिक नवदर्गाका नौ रुपलाई पुज्नुकाे कुनै अर्थ छैन । तर यसको अर्थ नवदुर्गालाई हामीले मान्नुहुँदैन भन्न खोजेको होईन । पुर्खौंदेखी हामीले नवदुर्गालाई पुज्दै आएका छौँ र पुज्नुपनि पर्छ । तर, काल्पनिक नवदुर्गाका ९ रुपलाई देवीको रुपमा पुजा गर्ने हामीले किन नारीका ९ रुपलाई पुज्न सक्दैनौं ? नवदुर्गाले पनि त्यही काम गरेकी छिन् जुन वर्तमान नारीले गर्दैै आएकी छिन् । तसर्थ, छोरी, श्रीमती, बुहारी, आमा, सासु, लगायत नारीका यि सवै रुपलाई हाम्रो समाजमा पनि पुजियोस अनि हाम्रा संस्कृती र परम्पराले पनि सार्थकता पाउनेछ । सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई बडा दशैंको हार्दिएक मंगलमय शुभकामना तपाईको बडा दशैँ शुभ रहोस ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्