कांग्रेस नेता तथा पूर्वसांसद जगदीशशम्शेरको निधन



सैघाली खबर,
काठमाडौँ, २४ असोज ।काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।

उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गरेका थिए । विसं २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए ।

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनी नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए ।
स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ ।
उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए । स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्