करोडौं ठगी गर्दै खारेज भएका म्यानपावर, विभाग भन्छ सचेत रहनुहाेस्



वैदेशिक रोजगार व्यवसायको अनुमति लिएका तर नयाँ व्यवस्था बमोजिम धरौटी राख्न नसकी खारेजीमा परेका म्यानपावर संस्थाहरुले कराेडाैं ठगी गरिरहेको पाइएको छ ।

काठमाडौंको चप्पल कारखानामा रहेको सी लिंक नामक म्यानपावर कम्पनी २ करोड धरौटी राख्न नसकी स्वतः खारेजीमा परेको कम्पनी हो । तर, उक्त कम्पनीले सयौं ब्यक्तिहरुको पासपोर्ट र रकम लिएर महिनौं देखि भिसा आउँछ भन्दै पर्खाइ रहेको थाहा पाएर सैघाली खबरको टीम घटनास्थल पुग्यो । सयौं व्यक्तिले म्यानपावर घेरिरहेका थिए भने कम्पनीका सञ्चालक सम्पर्कमा थिएनन् । हामीले भिडियो खिच्न थालेपछि ठगिएका व्यक्तिहरूले आफ्नो प्रतिक्रिया दिन थाले । तीस हजारदेखि एकलाख रुपैयाँ सम्म बुझाउने व्यक्तिहरू त्यहाँ थिए ।

स्थिति अराजक हुँदै गएपछि त्यहाँ प्रहरी पनि उपस्थित भयाे । ठगीको मारमा परेका व्यक्तिहरूमाथि कडा रुपमा प्रस्तुत भएको प्रहरीले भने म्यानपावर सञ्चालक आफूहरुको सम्पर्कमा रहेको र कानुन अनुसार कारबाही हुने बताए । व्यापक विरोध जनाइरहेका मानिसहरूको बीचबाट संस्थाका कर्मचारीलाई भने प्रहरीले पक्राउ गर्यो ।

विभागमा उजुरीपछि अनुगमन

सी लिंक ओभरसीजबाट आफ्नो पासपोर्ट र रकम फिर्ता पाउँ भनी वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले अनुगमन टोली खटायो ।

कम्पनीका सञ्चालक संपर्क विहिन छन् । प्रारम्भिक अनुसन्धानबाट उक्त संस्थाले नियम विपरित पासपोर्ट र रकम संकलन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

संस्था सिलबन्दी

राहदानी र अन्य प्रमाण सुरक्षित राख्ने उदेश्यले घरधनी र सुरक्षाकर्मीको रोहबरमा संस्था रहेको घरलाई सिलबन्दी गरिएको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक भीष्म कुमार भुसालका अनुसार उक्त संस्थाका सञ्चालकलाई कानुनी व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडि बढेको छ ।

विभागका अनुसार ३०३ वटा कम्पनीले धरौटी बुझाउन नसक्दा खारेजी वा मर्जरमा गईसकेकाले सचेत हुन र नियम विपरित कार्य गरेको जानकारी आए विभागमा जानकारी गराउन अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् रिपोर्ट :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्