सबै मन्त्रीलाई राजिनामा दिन राष्ट्रपतिको निर्देशन



चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् ।

आन्दोलनकारीहरूको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि राष्ट्रपति पिनेराले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरूलाई राजिनामा दिन लगाएका हुन्। आन्दोलनकारीहरूको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको छु, उनले बताएका छन् ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरूसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताएका थिए। उनले भने, हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ ।

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरू सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन्।

अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् । हजारौँलाई हिरासतमा लिइएको बताइएको छ। आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि संकटकालको घोषणा गरेका छन्।

उनले आफू आन्दोलनकारीहरूको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्ता मार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्