रसुवागढी नाकाबाट भित्रियो २ लाख ५० हजार किलो चिनियाँ ओखर



भारतबाट आयात भईरहेका कतिपय खाद्य सामग्रीहरु अब चीनबाट पनि धेरै भित्रिन थालेका छन् ।

अहिले नेपाली बजारमा चिनियाँ ओखर बढ्दो छ । नेपालमा चिनियाँ ओखरको आयात वर्षेनी बढ्दै गएको छ । तिहारलाई लक्षित गर्दै चालू आर्थिक वर्षको तीन महिनामा रसुवागढी नाकाबाट २ लाख ४९ हजार २ सय ४१ किलो ओखर आयात भएको छ । छोडाएको र बोक्रा सहित गरी २ लाख ४९ हजार २ सय ४१ किलो ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ लाख २२ हजार ३ सय ८२ केजी ओखर आयात भएको भन्सार कार्यालयसँग तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्ष ओखर आयात दुई प्रतिशतले वृद्धि भएको छ । यो तीन महिनामा रसुवागढी नाकाबाट ७ करोड ८ लाख ८० हजार ३ सय ३३ रुपैयाँ बराबरको ओखर आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । खड्का अनुसार आन्तरिक उत्पादन पर्याप्त नहुँदा चीनबाट ओखर आयात बढेको छ ।

यो नाकाबाट आर्थिक वर्ष ०७४÷०७५ मा १ लाख २ हजार ४ सय ९० केजी र आर्थिक वर्ष ०७५÷०७६ मा ३ लाख ९९ हजार १ सय ३७ केजी ओखर आयात भएको कार्यालयको तथ्याङ्क छ । नेपालमा चीन, भारत, चिली, अमेरिका र यूएईबाट ओखर आयात हुने गरेको छ । नेपालको हिमाली र उच्च लेकाली क्षेत्रहरुमा ओखर उत्पादन हुने गर्दछ । राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्याङक अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा ४ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा ओखर खेती गरिँदै आएको छ ।

त्यस मध्य १ हजार ९ सय ८५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक ८ हजार २ सय १३ टन मात्र ओखर उत्पादन हुने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्