पाँचथरमा बोक्सी भन्दै ससुराद्धारा बुहारीलाई यातना, पीडकहरु भने फरार



पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ ।

ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उहाँले बताउनुभयो । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाउनुभयो ।

पूजा भागेर अहिले माइतीको शरणमा पुग्नुभएको छ । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उहाँको भनाइ छ । यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ ।

उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्