साउदी आइडी तथा कामदारको भिसाको सम्बन्धमा रहेका समस्याबारे छलफल



काठमाडौं : नेपालस्थित साउदी अरेवियाको दूतावासले तोकिएको कार्यविधि पूरा गरेर भिसाका लागि आवेदन गर्ने म्यानपावर कम्पनीहरुको काम सहज रुपमा गरिदिने प्रतिवद्धता जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वले नेपालका लागि साउदी अरबका राजदूत मुसैद अल्मारवानी र उपप्रमुख तथा कन्सुलर मोहम्मद अल्खुधायरीसँग बिहीबार भेटगरी वैदेशिक रोजगार व्यवसायीको साउदी आइडी तथा कामदारको भिसाको सम्बन्धमा रहेका समस्याबारे छलफल गरेको थियो ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेको नेतृत्वमा प्रथम उपाध्यक्ष कमल तामाङ तथा महासचिव सुजित श्रेष्ठको टोली साउदी रोजगारीका सम्बन्धमा लामो समयदेखि समाधान हुन नसकेका समस्या समाधानबारे छलफल गर्न बिहीबार महाराजगञ्जस्थित साउदी दूतावास गएको थियो ।

संघले वैदेशिक रोजगारीमा साउदी अरेवियामा नेपाली कामदार पठाउने विषयमा रहेका समस्या अवगत गराएपछि साउदी राजदूत अल्मारवानीले तोकिएको प्रकृया पुरा गरेर फाइल पेश भएमा भिसा उपलब्ध गराउन कुनै विलम्व नगर्ने प्रतिवद्धता जनाएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

त्यस अवसरमा राजदूत तथा कन्सुलर प्रमुख दुवै जनाले नेपालका धेरैजसो व्यवसायीले कामदारको भिसाका लागि पेश गर्ने काजगातको प्रमाणीकरणमा शंका उत्पन्न हुने गरी पेश गर्ने गरेको गुनासो गर्दै त्यसैका कारण भिसा जारी गर्ने प्रकृयामा समस्या हुने जानकारी दिएका थिए ।

राजदूत अल्मारवानीले नेपालका कतिपय म्यानपावर कम्पनीले नेपाल प्रहरीले आपराधिक गतिविधिमा संलग्न भनी दिएको चालचलन रिपोर्टले भिसा पाईदैन भन्ने जान्दा जान्दै पनि त्यस्तो गलत रिपोर्ट राखेर भिसा आवेदन गर्ने, म्याद सकिएको मेडिकल रिपोर्ट पेश गर्ने, स्कील वर्करको भिसाका लागि पेश गरिएको प्रमाणपत्र नेपालको परराष्ट्र मन्त्रलाय कन्सुलर शाखाबाट प्रमाणित नगराई पेश गर्ने जस्ता कमजोरी गर्ने जानकारी दिएको पनि महासचिव श्रेष्ठले बताए । बिहीबार आफुहरुको भेटघाटका बेला जानीजानी गलत कागजात हालेर भिसा माग गरेका डेढ दर्जन भन्दाबढी देखाइएको भन्दै कतिपय व्यवसायीहरुले पेशागत ईमान्दारीता र पेशागत आचरण पालन गर्न नसकेको पनि पाइएको बताए ।

संघले बजार प्रवद्र्धन गर्न जाने व्यवसायीलाई टुरिष्ट भिसा सहज गर्न, पुराना आइडीको नवीरकण गरिदिन तथा नयाँ व्यवसायीहरुलाई पनि साउदी आइडी प्रदान गर्न गरेको आग्रहमा राजदूत अल्मारवानीले संघको सिफरिशका आधारमा यी काम गर्न दूतावास तयार रहेको जानकारी दिएका थिए ।

साउदी राजदूत अल्मारवानीले आफुहरु नेपाली कामदार र व्यवसायीहरुलाई सकेसम्म दुःख नहोस भनी दूतावासबाट प्रदान गरिने सेवाहरुलाई सहज पारेको तर रियादस्थित नेपाली दूतावासले डिमाण्ड प्रमाणीकरण गराउन जाने साउदी रोजगारदाताहरुलाई अनावश्यक हैरानी दिएको भन्दै आफ्नो गुनासो पनि व्यवसायीहरुलाई सुनाएका छन् ।

हामीले हप्ताको चारदिन सेवा दिएका छौं, कागजात पेश भएको चार घण्टामा नै सेवा दिने गरेका छौं, तर रियादस्थित नेपाली दूतावासमा कागजपत्र प्रमाणीकरण गर्न आउने साउदी रोजगारदातालाई अनेक बहाना बनाएर दुई महिनासम्म कुराउने गरिन्छ यस्तो किन ? भन्ने प्रश्न राजदूत अल्मारवानीले राखेको भन्दै महासचिव श्रेष्ठले नेपाललाई कामदारको डिमाण्ड नचाहिएकै हो त ? भन्ने जिज्ञासा समेत उनले राखेको जानकारी दिए ।

साउदी अरबस्थित नेपाली दूतावासका कर्मचारी डिमाण्ड प्रमाणीकरणमा अनावश्यक समस्या पारेको भन्दै नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराउने बताएका थिए । राजदूत अल्मारवानीले पनि त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटेर छलफल गर्न चाहेको संकेत दिएको महासचिव श्रेष्ठले बताए ।

यसैबीच संघले शुक्रबार एक कार्यक्रम आयोजना गरी संघका नवनियुक्त सल्लाहकार रोहन गुरुङ (पंदेन), विमल ढकाल, किरण किशोर घिमिरे, प्रज्ञान न्यौपाने र रविन शेरचन तथा कानूनी सल्लाहकार शम्भु निरौलाको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै शुक्रबार नै संघका अध्यक्ष गैरेले संघका मनोनित सदस्यद्वय अस्गर अली र तुल्सी पुरीलाई कार्यसमिति सदस्यको शपथ ग्रहण गराएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्