‘म यस्तो गीत गाउँछु २’ गीतः पूजाको मायामा पल (भिडियो सहित)



बक्सअफिसका हिट मेशिन भनिने निर्देशक सुदर्शन थापा फिल्मसँगै गीतसंगीत छान्न पनि निकै माहिर मानिन्छन् । उनी निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’ मा समावेश गीत अझै पनि जनजिब्रोमा झुण्डिन सफल छन् । वर्षमा एउटा मात्र फिल्म लिएर आउने उनले यस वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् ।

बिहीबार यो फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक भएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । सोनम तोप्देनलाई सुदर्शनले आफ्नो नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । गीतको अडियो र भिडियो दुबै गजब बनेको छ ।

नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर खिचिएको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । भने, पाँच सयभन्दा बढी कोरसले नृत्य गरेका छन् । सौरभ लामाले खिचेको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

यो गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा निर्माण टिम विश्वस्त छ । ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेलाई प्रदर्शनमा आउँदैछ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् ।

गीतको भिडियो हेर्नुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्