वैज्ञानिकले पत्ता लगाए सूर्यभन्दा ७० गुणा ठूलो ब्ल्याक होल, के हो ब्ल्याक होल ?



काठमाडौँ । खगोलशास्त्रीहरूले मिल्की-वे आकाशगंगामा सोचेभन्दा निकै ठूलो ‘ब्ल्याक होल’ पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसअघि ब्ल्याक होलहरू सूर्यभन्दा बीस गुणासम्म ठूलो हुने अनुमान गरेका थिए। तर यो नयाँ ब्ल्याक होल सूर्यभन्दा ७० गुणा ठूलो भएको चाइनिज एकेडेमी अफ साइन्सेसले जनाएको छ।

नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार यो खोजले हामीले अहिलेसम्म ब्ल्याक होलबारेबुझिआए भन्दा फरक जानकारी दिनेछ। तर यसको आकारले चिनियाँ अन्तरिक्ष वैज्ञानिकहरूलाई चकित बनाएको छ।

ब्ल्याक होलबारे सय वर्षअगाडि वैज्ञानिक अल्बर्ट आइन्सटाइनले पत्ता लगाएका थिए। उनले भनेका थिए- हाम्रो ब्रह्माण्डमा पृथ्वीजत्रै वा योभन्दा ठूलो यस्तो ठाउँ छ जसले सबै कुरा आफूतिर खिच्छ। प्रकाशलाई पनि आफूमै समाहित गर्छ। त्यसलाई हामी देख्न सक्दैनौं। त्यो भागभन्दा बाहिर घेरिएको प्रकाश मात्र देखिन्छ। यो त्यसको गुरूत्वाकर्षणले भएको हो।

आइन्सटाइनको यो भनाइ गत वैशाखमा ब्ल्याक होलको पहिलो तस्बिरसँगै पुष्टि भएको थियो। अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक तस्बिर लिन सफल ब्ल्याक होल सूर्यभन्दा र ४० अर्ब किलोमिटरमा फैलिएको थियो। यसलाई वैज्ञानिकहरूले ‘मोन्स्टर (राक्षस)’ को संज्ञा दिएका छन्।

किन ‘राक्षस’ भनिन्छ ब्ल्याक होललाई ?

वैज्ञानिकका अनुसार ब्ल्याक होल भनेको अन्तरिक्षको यस्तो भाग हो जहाँबाट कुनै पनि चिज फुत्कन सक्दैन। यो जुनसुकै आकारको हुनसक्छ र यो भाग देख्न सकिँदैन। प्रकाश बाहिर आउन नसक्ने भएकाले त्यसको रङ पनि थाहा हुँदैन। वरिपरि प्रकाशले घेरिएको र बीचमा कालो देखिने भएकाले ब्ल्याक होल भनिएको हो।

आइन्सटाइनले कुनै पनि वस्तुको पिण्ड (तौल) ले त्यसको गुरूत्वाकर्षण शक्ति निर्धारण गर्छ भनेका थिए। अर्थात्, कुनै वस्तुले अर्को वस्तु आफूतिर खिच्ने शक्ति त्यसको तौलमा भर पर्छ। धेरै तौल भए गुरूत्वाकर्षण धेरै, थोरैको थोरै।त्यस्तै कुनै ठूलो पिण्ड सानो ठाउँमा खुम्चेर बस्यो भने त्यसको गुरूत्वाकर्षण एकदमै धेरै र ठूलो हुन्छ भनेर आइन्सटाइनले भनेका थिए।

ब्ल्याक होलमा यही लागू हुन्छ। यो सानो ठाउँमा खुम्चेर बसेको ठूलो पिण्ड हो, जसको आफूतिर अरू वस्तु तान्ने शक्ति एकदमै धेरै हुन्छ। त्यसैले ब्ल्याक होलबाट केही कुरा फुत्किन सक्दैन। प्रकाशसमेत त्यसमै घुलिने शक्ति हुन्छ। यही कारण यसलाई राक्षस भनिएको हो।

सिद्धान्तत: कुनै पनि वस्तुलाई निचोरेर एकदमै सानो बनायो भने त्यो ब्ल्याक होल बन्छ। हाम्रो पृथ्वीलाई निचोरेर एउटा केराउको दानाजत्रो पारियो भने पृथ्वी पनि ब्ल्याक होल बन्न सक्छ।

ब्ल्याक होल ब्रह्माण्ड स्थापना हुँदा नै बनेका हुन्। साना–ठूला दुवै खाले। ठूला ब्ल्याक होललाई ‘सुपरम्यासिभ’ नाम दिइएको छ। यस्ता ब्ल्याक होलमा दस लाख सूर्य अटाउने क्षमता हुन्छ। साना ब्ल्याक होलमा पनि दुई दर्जन सूर्य सहजै अटाउँछन्।

ब्ल्याक होलहरू ब्रह्माण्डमा छरपस्ट रहेको वैज्ञानिकहरूको विश्वास छ। ब्रह्माण्डमा यति धेरै ब्ल्याक होल छन्, तिनलाई गन्न असम्भव छ। एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्