जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीकै मिलोमतोमा घुस



काठमाडौं , मंसिर ३० ।  रोजगारीको आकर्षक गन्तव्य मुलुक जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीको मिलोमतोमा घुस लिएको फेला परेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा प्रहरी जवानसहित पाँच जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।

जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा आयोगले प्रहरी जवान रमेशसिंह विष्ट, गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्सका सञ्चालक विनोदकुमार भुजेल, वसन्त श्रेष्ठ, बुद्ध तामाङ र अजय नगर्जी परियारविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा उनीहरूले श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहाना बनाएर सेवाग्रहीसँग २२ हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

पाँचै जनालाई आयोगले बिगो रकम २२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको माग गरी मुद्दा दायर गरेको हो । प्रहरी जवान रमेशसिंह विष्ट महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्