कतार जान लागेका ९ जना विमानस्थलबाट पक्राउ



काठमाडौँ। दुबईको पर्यटक भिसा देखाएर नौ नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्न आँटेका थिए । अध्यागमनको जाँच सकेर अगाडि बढेका उनीहरूलाई विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष पुग्नुअघि प्रहरीले जाँच गरे । लगत्तै उनीहरू पक्राउ परे ।

त्यसपछि पोल खुल्यो, पर्यटक भिसामा कुवेत हुँदै दुबई जान आँटेका भनिएका उनीहरूको गुप्त उद्देश्य कतार पुगेर काम गर्नु थियो । प्रहरीले उनीहरूको साथबाट कतारको भिसा र अन्य कागजातसमेत फेला पारेको छ । श्रमस्वीकृतिको सरकारी प्रक्रिया छलेर उनीहरू कतारमा कामदारको हैसियतमा पुग्न खोजेका थिए । विमानस्थल प्रहरी स्रोतका अनुसार कुवेतबाट दुबई जाने भन्दै उनीहरूले देखाएको विमान टिकट नक्कली थियो । पर्यटक भिसामा दुबई जाने भने पनि उनीहरू कुवेतबाट सोझै कतार उड्ने योजनामा थिए ।

पक्राउ परेकाहरूलाई प्रहरीले वैदेशिक रोजगार विभागलाई बुझाइदिएको खबर आजको कान्तिपुर दैनिकमा छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले श्रमस्वीकृति प्रक्रिया छल्नेमाथि अनुसन्धान चलिरहेको बताए । विभाग स्रोतका अनुसार कतार पुग्न हिँडेका सबैले व्यक्तिगत पहलमा कतारी एजेन्टबाट कतारमा काम खोजेका थिए ।

उनीहरूले कतारी कम्पनीबाट काम पक्का हुने कागजात पाइसकेका थिए । व्यक्तिगत पहलमा काम खोजेर विभागबाट श्रमस्वीकृति लिन सकिने कानुनी व्यवस्था भए पनि उनीहरूले श्रमस्वीकृतिको प्रक्रिया किन छल्न खोजे भन्नेबारे विभागले अनुसन्धान थालिसकेको छ । महानिर्देशक भुसालले भने, ‘छलीको यो प्रक्रियामा ट्राभल एजेन्सीदेखि अन्य ५र६ वटा संस्था संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्