वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन सकेन् : प्रस्ताव ११ अर्बको, विक्री मात्र ५८ करोडको



काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरूको आर्जनलाई राष्ट्रिय पूँजी निर्माणमा परिचालन गर्ने उद्देश्यले वैदेशिक रोजगार बचतपत्र जारी गरिन थालेको १ दशक पूरा भएको छ । तर, जोखिमरहित ऋणपत्र मानिएको यस बचतपत्र किन्ने विषय भने खासै प्रभावकारी हुनसकेको छैन ।
नेपाल राष्ट्र बैंकले आव २०६६र२०६७ बाट शुरू गरेको रोजगार बचतपत्रको विक्री आव २०७४र७५ को अन्त्यसम्म आउँदा मात्र ५ दशमलव २९ प्रतिशत भएको छ ।

राष्ट्र बैंकले हालसम्म विक्रीका लागि कुल ११ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र जारी गरेकोमा मात्र ५८ करोड ६८ लाख ५५ हजार रुपैयाँको विक्री भएको खबर आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

शुरूका ४ वर्षमा अर्बौं बराबरको बचतपत्र विक्रीका लागि जारी गरे पनि त्यसप्रति उत्साहजनक सहभागिता नहुँदा राष्ट्र बैंकले आव २०७०र७१ देखि विक्री रकम करोडमा झारेको थियो ।राष्ट्र बैंकको तथ्यांकअनुसार पहिलोपटक ९ दशमलव ७५ प्रतिशत ब्याजदरको १ अर्ब रुपैयाँको बचतपत्र जारी गरिएको थियो । तर, ४० लाख रुपैयाँ बराबरको मात्र विक्री हुनसक्यो ।

एक दशक बित्दासमेत बचतपत्र र यसका फाइदाबारेमा अधिकांश सरोकारवाला अनभिज्ञ रहँदा तथा र बचतपत्र लिने प्रावधान कडा भएकाले खासै प्रभावकारी बन्न नसकेको बुझाइ केन्द्रीय बैंकका अधिकारीहरूको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी निष्कासन हुँदै आएको बचतपत्रका फाइदाबारे क्रेताले विस्तृतमा थाहा नपाएकाले यसको विक्री कम हुनसक्ने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।

यो बचतपत्र सबैले किन्न पाउँदैनन् तर मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा किन्न पाउने राष्ट्र बैंकको प्रावधान छ । बचतपत्र किन्नेको प्रावधान कडा भएकाले पनि विक्री न्यून विक्री भएको बुझाइ राष्ट्र बैंकको छ ।

सरकारले करीब १ वर्षपछि पुनः वैदेशिक बचतपत्र विक्रीको प्रस्ताव ल्याएको छ । पुस १ गतेदेखि २१ गतेसम्म १० प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको रू.२० करोड वैदेशिक रोजगार बचतपत्र विक्री खुला गरिएको छ । उक्त बचतपत्रको निष्कासन पुस २७ गते हुँदै छ भने क्रेताले ब्याज ६÷६ महीनामा पाउने र सावाँ भुक्तानी विसं २०८१ पुस २७ गते गर्ने राष्ट्र बैंकले बताएको छ ।

सरकारले वैदेशिक रोजगारमा गएकालाई सम्मान गर्दै उनीहरूको बचत परिचालन गर्न आन्तरिक ऋणका रूपमा बचतपत्र जारी गरिएको भट्ट बताउँछन् । उनका अनुसार सरकारले चालू आवमा १ सय ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएअनुसार वैदेशिक रोजगार बचतपत्रलाई प्राथमिकता दिएर विक्री गर्न लागेको हो ।

पछिल्लोपटक जारी गरेको उक्त बचतपत्रमा नेपाल बाहिर यूएई, साउदी अरब, कतार, भारत, जापान, अमेरिका, दक्षिण कोरिया, मलेशिया, इजरायल, टर्कीलगायत मुलुकमा रहेका नेपाली नागरिकले सोही देशमा रहेको सम्पर्क कार्यालयबाट किन्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्र किन्न नेपालभित्र १० ओटा विक्री एजेन्ट तोकिएको छ । त्यसैगरी, नेपालबाहिर विभिन्न देशमा नौओटा विक्री एजेन्ट तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्