गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठक पोखरामा बस्ने



गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक पोखरामा बस्ने भएको छ ।

आगामी १८ र १९ जनवरीमा पोखरामा आयोजना गरिने संघका प्रवक्ता डिबी क्षेत्रीले बताए । अन्तर्राष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने बताइएको छ । २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शनिवार सम्पन्न पदाधिकारी बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउने समेत निर्णय गरेको क्षेत्रीले जनाए । बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो । प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ । यसै बीच शनिवार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतिय बैठक आयोजना गरिएको थियो ।

बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उनले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राखे। उनले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिए । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिकासंग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक सौचालयको विकासका लागि पहल गरिरहेको जानकारी दिए ।

बैठकमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको बताए । उनीहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद्संगको सल्लाहमा हुनु पर्ने धारणा राखेका थिए । बैठकमा तीन दर्जन राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा महासचिव सहभागि थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्