ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना



 यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले भने ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको छ । त्यसकारण जरिवाना बढाउन लागेका हौं।’ विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ ।

‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउँछौं। मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिन्छ । त्यसपछि मस्यौदा संसदमा जान्छ,’ हमालले भने ।

अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ । ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई ३ हजारसम्मको जरिवाना लिन अधिकार दिइएको छ ।

यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउने छ । ‘यो ऐन लागू भएपछि ट्राफिक नियम उलंघनको जरिवाना न्यूनतम र उच्चतम भन्ने हट्छ र सिधै ५ हजार जरिवाना लाग्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्