२० लाख पर्यटक भित्र्याउने लक्ष्य, सीमा समस्या समाधान गर्न सहमत, आतंकवादी खोज्दा सुन तस्कर भेटियो



काठमाडौंबाट बिहिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । प्रकाशित पत्रपत्रिकाले विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्र, तथा नेपाल भ्रमण वर्षको सुरुवात, उखु किसानको आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालगाएत फरक(फरक समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

राजधानी दैनिकले भ्रमण वर्ष शुरु भएसँगै २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ घोषणा गरिएको ‘भिजिट नेपाल २०२०’ बारे प्रमुख समाचार बनाएको छ । बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीले दशरथ रंगशालामा उद्घाटन गर्नुभएको पर्यटन वर्ष नेपालले दोश्रो पटक आयोजना गरेको हो । यसअघि सन् १९९८ मा पर्यटन भित्र्याउने लक्ष्यका साथ पहिलोपटक भ्रमण वर्ष आयोजना गरिएको थियो । त्यस्तै सन् २०११ मा दोश्रोपटक १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्षको आयोजना भएको थियो । सरकारले लक्ष्य राखेअनुसार ती वर्षहरुमा लक्षित संख्यामा पर्यटक आएका थिएनन् ।

समाचारमा उल्लेख भएअनुसार सन् २०१९ को तथ्यांकलाई केलाउने हो भने यो पटक २० लाख पर्यटक भित्र्याउनका लागि अझै मेहनत गर्नेपर्ने देखिन्छ । अहिले पनि वार्षिक रुपमा १२ लाख पर्यटक भने आइरहेका छन् । पत्रिकामा १० वर्षे पर्यटन रणनीतिमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि त्रिभुवन विमानस्थलको स्तरोन्नति गरी गौतमबुद्ध र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने योजना राखिएको भएपनि त्यसको प्रभावकारीता दखिन नसकेको उल्लेख छ ।

यस्तै नेपाल समाचार दैनिकमा सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको समाचार छापिएको छ ।
वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र सन् २०२० अझै उचाइमा पु¥याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

अन्नपूर्ण पोष्ट दैनिकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट नगरेको समाचार छ । निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ । तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् । राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरु भने अझै तातेका छैनन् । अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको छ । प्रदेश २ बाट नेकपा र राजपाले २–२ सिटमा तालमेल गरेका छन् । यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ ।

पत्रिकामा सर्वोच्च अदालतले नेपालको सीमा, नक्सा र क्षेत्रफलबारे संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेको दस्तावेजसहित उपलब्ध सबै कागजप्रमाण झिकाएको समाचार छ। तथ्यप्रमाणका आधारमा सीमा, नक्सा र क्षेत्रफल विवाद निक्र्योल गर्न सर्वोच्चले बुधबार ऐतिहासिक ‘डकुमेन्ट’ माग गरिएको हो। न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गरी बुझाउन आदेश दिएको हो। सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिको अनुसूची, प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेस गर्न आदेशमा भनिएको छ। सर्वोच्चले सुगौली सन्धिपछि तयार भएको नेपालको आधिकारिक नक्सासमेत झिकाएको छ।

नयाँ पत्रिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्व्निर्णयअनुसार २५ हजारमाथिका बिलको विवरण सार्वजनिक गर्न शुरू गरेको खबर छ । बुधवार ६ वटा बिल वेबसाइटमा राखिएका छन् । सरकारी कार्यालयहरूले २५ हजारमाथिका बिल वेबसाइटमार्फत ७२ घण्टा सार्वजनिक गर्नुपर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भएको निर्णय वर्तमान सरकार गठनसँगै बन्द गरिएको थियो ।

आजको राजधानी दैनिकमा सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी)ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।

हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् । खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने गथ्र्यो ।तर अब यो च्याप्टर बन्द भएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।

नागरिक दैनिकमा नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वर्षौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको समाचार छ । नेपालमा अन्तर्रा्ष्ट्रिय आतंकवादी छिर्दैछन् भन्ने सूचनालाई पछ्याउँदै जाँदा नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले सुन तस्कर महोम्मद जिसानलाई पक्राउ गरेको हो । उनी भारतीय नागरिक भएकाले प्रहरीले यसलाई सार्वजनिक गरेको छैन । मुजाहिद्दिन आतंकवादी नेपाल छिरेका छन् भन्ने सूचना पाएपछि परिचालित भएको प्रहरी टोलीले उनलाई फेला पारेको हो । प्रहरीले औपचारिकरुपमा उनलाई सुन तस्करका रुपमा प्रस्तुत भने गरेको छैन । उनको गतिविधि शंकास्पद रहेको जनाएको छ । विशेष व्यूरोले सोह्रखुट्टे प्रहरी वृत्तमा बुझाएको भए पनि सोह्रखुट्टे प्रहरीले जिसान आफ्नो हिरासतमा नरहेको बताएको छ । मंसिर २९ गते विमानस्थलमा झरेका जिसानलाई ३० गते स्रोहखुट्टे प्रहरीमा बुझाएको थियो । प्रहरीले तयार पारेको प्रारम्भिक विवरणमा भने उनी सुन तस्कर भएको उल्लेख छ ।

नयाँ पत्रिका दैनिकमा पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर नतिरेको समाचार छ । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए । हिमालय–महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्