हात्तीको बथानले दुई घर भत्कायो,



सैघाली खबर,
कञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ ।

हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको छ ।
घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताउनुभयो ।

हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उहाँले बताउनुभयो । स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताउनुभयो ।

राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए । उहाँका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्