मौसममा फेरि बदली: बेलुकीदेखि देशैभर पानी पर्ने र भारी हिमपात हुने सम्भावना



काठमाण्डौँ । पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ । पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

आज सोमबार दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । यसको प्रभाव भोली मङ्गलबार थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।

यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन् ।

मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाण्डौसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको उहाँले बताउनु भयो । यी क्षेत्रमा भने सामान्य खालको बदली मात्रै हुनेछ ।

मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने उहाँले बताउनु भयो । यसैबीच काठमाण्डौको सोमबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्