अमेरिका- ईरान तनाव : खाडीमा कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता

दूतावाससँग सम्पर्कमा रहन आग्रह


काठमाण्डौ । पछिल्लो समय अमेरिका र ईरानबीच तनाव बढेको छ । इरानको संसदले सबै विदेशी सेनालाई आफुनो देश छाडेर जान समेत आग्रह गरिसकेको छ । योसँगै खाडी क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता सुरु भएको हो ।

सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आइतबार छलफल भएको छ ।

सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।

‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ’, उनले भने , ‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै सङ्ख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षाबारे सरकार गम्भीर छ ।’

मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ ।

साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्से्नि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।

अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्